संयुक्त अरब इमिरेट्स (यूएई) मा निधन भएका म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्कका हेमबहादुर सार्कीको शब अन्ततः ३६ घण्टाको निरन्तर पहलपछि नेपाल ल्याएर दहासकार गरिएको छ।

विगत तीन महिनाअघि यूएईमा काम गर्ने क्रममा निधन भएका सार्कीको शब आफन्त नखुलेपछि अस्पतालमै अलपत्र अवस्थामा थियो। कुनै पनि परिवारजनले सम्पर्क नगरेपछि शब फर्काउने प्रक्रिया अन्योलमा परेको थियो। तर, बेनी अनलाइनमा सार्कीको अवस्थाबारे समाचार प्रकाशित भएपछि घटनाले स्थानीय तहदेखि प्रवासी नेपाली समुदायसम्मको ध्यान तान्यो।

यस घटनाप्रति चासो देखाउँदै बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाँनेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम सक्रिय भएर अघि बढे। दुबैले आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाए। मोना यूएई, म्याग्दी नेपाली समाज यूएई तथा अबुधाबीस्थित नेपाली दूतावासले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै कानुनी तथा प्रशासनिक पक्षहरू मिलाएर शब नेपाल फर्काउने काममा सहयोग गरे।

वडा अध्यक्ष बानियाँले भने,

“यो हाम्रो सामाजिक उत्तरदायित्व हो। देशबाहिर दुःख गरिरहेका नेपालीहरुको पीडामा हामी नजिक हुनु आवश्यक छ। शब अलपत्र परिरहेको खबरले अत्यन्त पीडा दियो। हामीले ढिला नगरी आवश्यक कागजात जुटाउन दूतावास र सम्बन्धित संघसंस्थासँग तत्काल समन्वय गरेका थियौं।”

शवलाई नेपाल ल्याउने क्रममा आर्थिक समस्या पनि देखिएको थियो। तर बेनी नगरपालिका र वडा कार्यालयले तत्काल आवश्यक खर्च सहयोग गरेर शव स्वदेश ल्याउन महत्वपूर्ण भूमिका खेले। अध्यक्ष बानियाँ स्वयंले व्यक्तिगत रुपमा समेत आर्थिक र मानवीय पहल गर्दै अन्त्येष्टिसम्मको प्रक्रिया पुरा गरे।

दहासकार कार्यमा स्थानीयवासी, समाजसेवी र पत्रकारहरु समेत सहभागी भएका थिए। अन्त्येष्टिमा सहभागीहरुमध्ये एक स्थानीयले भने,

“हेमबहादुरजस्तो श्रमिकको शव स्वदेश ल्याउन ३६ घण्टामा यति ठूलो प्रयास हुनु गर्वको विषय हो। वडा अध्यक्षको सक्रियता उदाहरणीय बन्यो।”

यो घटना केवल एउटा शव ल्याउने प्रयास मात्र होइन, देशबाहिर दुःख गरिरहेका नेपालीहरूप्रति हाम्रो सामाजिक जिम्मेवारी र स्थानीय नेतृत्वको संवेदनशीलताको प्रमाण पनि हो।