इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको १५०१ औँ जन्म जयन्ती (१२ रबिउल अव्वल शरीफ) को पावन अवसरमा म्याग्दीमा प्रभातफेरी (र्याली) तथा परोपकारी कार्य गरी भव्य रूपमा मनाइएको छ।
सोही अवसरमा म्याग्दी मुस्लिम समाज सेवा समिति र बर्काती युवा क्लबको संयुक्त आयोजनामा बेनी नगरपालिका–५ स्थित श्री बाल जागृति आधारभूत विद्यालयका बौद्धिक अपाङ्गता भएका छात्राहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै म्याग्दी मुस्लिम समाज सेवा समितिका अध्यक्ष रहमत खानले पैगम्बर मुहम्मदले संसारमा मानवता, भाइचारा, शान्ति र सद्भावको सन्देश फैलाएको बताउँदै उहाँको उपदेशलाई व्यवहारमा उतार्नु पर्ने धारणा व्यक्त गरे।
“इस्लाम धर्मले सधैं मानव सेवा, भाइचारा र शान्तिलाई पहिलो प्राथमिकता दिएको छ,” अध्यक्ष खानले भने, “हामीले पैगम्बर मुहम्मदको जन्म जयन्तीको अवसरमा औपचारिक उत्सव मात्र नमनाई समाजका असहाय, विपन्न तथा विशेष आवश्यकता भएका बालबालिकाहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेका हौँ। यस्ता सामाजिक कार्यले समाजमा आपसी एकता र सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पुर्याउँछ।”
म्याग्दीमा रहेका मुस्लिम समुदायका अगुवा, युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा निकालिएको प्रभातफेरी (र्याली) ले बेनी बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। सो क्रममा आपसी भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक सेवाभावलाई जोड दिइएको थियो।








