म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ्गमा डि लाईट स्केट हाउसको अगुवाइमा सडक सुरक्षालाई ध्यानमा राख्दै यातायात ऐना (ट्राफिक कर्भ मिरर) जडान गरिएको छ। दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रवाहलाई मद्दत पुर्याउने उद्देश्यले ऐना जडान गरिएको हो।
डि लाईट स्केट हाउसका अध्यक्ष सनम जिसिको संयोजनमा सम्पन्न कार्यक्रममा जनप्रिय टोल सुधार समितिका अध्यक्ष हिरा ब. पुन, पश्चिम म्याग्दी युवा क्लबका अध्यक्ष खिम ब. पुन, दरबाङ्ग प्रहरी चौकीका प्रमुख क्षेत्र बहादुर बरुवाल र ट्राफिक प्रहरी बिट दरबाङ्गका प्रमुख गोपाल राना सहभागी थिए।
उक्त ट्राफिक ऐना दरबाङ्ग बजार क्षेत्रको जोखिमपूर्ण मोडहरूमा जडान गरिएको हो, जसले चालकहरूलाई अगाडि आउने सवारी पहिचान गर्न मद्दत गर्नेछ। सहभागीहरूले यस्तो सराहनीय पहलले दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमका अध्यक्ष सनम जिसिले भने, “सामाजिक उत्तरदायित्वका आधारमा हामीले ट्राफिक ऐना जडान गरेका हौं। यो सुरक्षासम्बन्धी अभियानलाई निरन्तरता दिनेछौं।”
पुलिस प्रमुख बरुवालले सडक सुरक्षामा नागरिक सहभागिता अत्यन्त महत्वपूर्ण हुने बताए। उनले यस्ता सशक्त पहलले ट्राफिक नियमप्रति जनचेतना बढाउने बताए।
सामुदायिक सहभागितामा गरिएको यो अभियानले दरबाङ्ग क्षेत्रलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने आशा गरिएको छ।








