दरबाङ, म्याग्दी । बेनी नगरपालिका–६ को भुमाजस्थित ‘पहीरो खस्ने क्षेत्र’ मा यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। डि–लाइट स्केट हाउस, दरबाङ शाखाको पहलमा राखिएको सूचनापाटीमार्फत यो जानकारी सार्वजनिक गरिएको हो।
उक्त क्षेत्रमा पटकपटक ज्यानमारा पहिरो खस्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। “अचानक ढुंगा मात्र होइन, यात्रु तथा चालकहरूमाथि ज्यानै लिने पहिरो खस्न सक्ने भएकाले अत्यन्त होसियार हुन आवश्यक छ”, सूचनापाटीमा उल्लेख छ।
साथै, ठूलो बाढीपछिको अवस्था, सिमसिमे वर्षा वा ढुंगा खसेको आवाज सुनिएको अवस्था जस्ता जोखिमपूर्ण संकेत देखिएमा यात्रालाई तत्काल स्थगित गर्न वा फर्कन सल्लाह दिइएको छ। स्थानीयबासी वा डोजर चालकसँग सल्लाह गरेर मात्र अगाडि बढ्न आग्रह गरिएको छ।
डि–लाइट स्केट हाउसका सञ्चालक तथा अध्यक्ष सनम जिसीले भने,
“हामीले युवाहरूको खेलकुद विकास मात्र होइन, सामाजिक सुरक्षा र जनचेतनामूलक अभियानमा पनि योगदान दिनुपर्छ भन्ने सोचका साथ खतरनाक पहिरो क्षेत्रमा सतर्कता बोर्ड राखेका हौं। यात्रुहरू, चालक साथीहरू र स्थानीयले यो सूचनालाई ध्यानमा राखेर सजग बनून् भन्ने हाम्रो उद्देश्य हो।”
उक्त बोर्डमार्फत यात्राको क्रममा अचानक पहिरो खस्ने सम्भावना रहेको र विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
“ढुंगा खस्ने आवाज, जमिन चिरिएको देखिएको वा सिमसिमे पानी परिरहेको अवस्थामा यात्रा नगर्नुहोस्। स्थानीयबासी वा डोजर चालकसँग जानकारी लिएर मात्र यात्रा अघि बढाउनुहोस्” भन्ने चेतावनीसमेत दिइएको छ।
साथै, आपतकालीन अवस्थाको लागि प्रहरी चौकी टाकमको सम्पर्क नम्बर (९८५७६५९४००, ९८५७६५९४७०) समेत बोर्डमा उल्लेख गरिएको छ। स्थानीय स्तरबाट सार्वजनिक हितमा गरिएको यो पहल उदाहरणीय मानिएको छ।









