बेनी, म्याग्दी — दलित समुदायका युवाहरूको क्षमता अभिवृद्धि तथा प्रभावकारी उद्घोषण कला विकासका लागि बेनी नगरपालिका–२ पाखथरमा एकदिने तालीम सम्पन्न भएको छ। तालीम बेनी नगरपालिका वडा नम्बर २ को सहकार्यमा मार्स मल्टिमिडिया हाउस प्रा.लि.को आयोजनामा सम्पन्न गरिएको हो।
कार्यक्रमको अध्यक्षता कृष्ण चर्मकारले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष याम ब. क्षेत्री सहभागी हुनुहुन्थ्यो। तालीममा उद्घोषण कला, आत्मविश्वास विकास, सार्वजनिक प्रस्तुति र नेतृत्व सीपका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकका रूपमा सञ्चारकर्मी अमित विश्वकर्मा, राकेश शर्मा ,युवा नेता सुवास विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षक अमित विश्वकर्माले भन्नुभयो, “उद्घोषण कला एउटा प्रभावशाली संप्रेषण माध्यम हो, जसले नेतृत्व क्षमता र आत्मविश्वास वृद्धि गर्न सहयोग गर्छ। यस्तो तालीमले युवाहरूको सामाजिक भूमिका अझ मजबुत बनाउँछ।”
युवा नेता सुवास विश्वकर्माले तालीमबारे धारणा राख्दै भन्नुभयो, “हामी आफैं बोल्न डराउने समुदाय भनेर चिनिए पनि अब युवाहरूले अगाडि बढ्ने समय आएको छ। यस्ता तालीमले युवालाई व्यक्तित्व विकासमा टेवा पुग्छ।”
प्रशिक्षक राकेश शर्माले भने, “सही अभ्यास र अवसर पाएमा दलित युवाहरूले समाजमा नेतृत्व गर्न सक्छन्। उद्घोषण कला तालीम त्यसतर्फको पहिलो भरपर्दो पाइला हो।”
एकदिने तालीममा पाखथर र आसपास क्षेत्रका करिब दुई दर्जन सहभागी युवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले तालीमबाट उद्घोषणको प्राविधिक पक्षका साथै आत्मबल र अभिव्यक्तिको सीप सिकेको बताएका छन्।








