जापान जान चाहने युवाहरूलाई लक्षित गर्दै एडियु जोन एडियु जोन एजुकेशन/भिषा सेन्टरले बागलुङको बुर्तिबाङमा आफ्नो पाँचौँ शाखाको रुपमा नयाँ शाखा संचालनमा ल्याएको छ। मंगलबार आयोजित एक समारोहबीच ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले उक्त शाखाको उद्घाटन गर्नुभयो।
उद्घाटनपछि बोल्दै अध्यक्ष छन्त्यालले पछिल्लो समय वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाहरुको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो। उहाँले पश्चिम बागलुङमा अहिलेसम्म व्यवस्थित भाषा पढ्ने संस्था नहुँदा धेरै युवा पोखरा, काठमाडौँ, बुटवल जस्ता सहरमा गएर लाखौँ खर्च गरेर भाषा सिक्न बाध्य भएको बताउनुभयो।
“अब एडियु जोनले यहाँ भाषा कक्षा संचालन गरेपछि सामान्य आर्थिक अवस्था भएकाहरूले पनि सजिलै पढ्न पाउनेछन्। यो क्षेत्रका युवालाई दक्ष बनाउने दिशामा यो एक महत्वपूर्ण कदम हो,” अध्यक्ष छन्त्यालले भन्नुभयो, “बुर्तिबाङमा भाषा कक्षा संचालन हुनु यस क्षेत्रकै लागि गौरवको कुरा हो। अब लाखौं खर्च गरेर बाहिर जानुपर्ने अवस्था हट्नेछ।”
एडियु जोनका अध्यक्ष दिल मास्की रानाले यस क्षेत्रका युवालाई दक्ष बनाउने उद्देश्यले भाषा सेन्टर संचालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले एडियु जोनलाई यहाँको समुदायसँग जोड्दै स्थापित गर्ने अपेक्षा राखेको बताउँदै दक्ष जनशक्ति उत्पादन गर्न संस्था प्रतिवद्ध रहेको बताउनुभयो।
कार्यक्रममा ढोरपाटन उद्योग वाणिज्य संघका महासचिव ज्ञानप्रसाद कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा एडियु जोनका अध्यक्ष दिल मास्की रानाको अध्यक्षता रहेको थियो भने कार्यक्रम पत्रकार महासंघ बागलुङका सहसचिव डम्मर बुढा मगरले सञ्चालन गर्नुभएको थियो।
एडियु जोनको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ भने यसले पर्वत, म्याग्दीलगायतका जिल्लामा समेत भाषा कक्षा संचालन गर्दै आएको छ। बुर्तिबाङ शाखासँगै संस्था विस्तारको क्रममा रहेको संकेत गरिएको छ।








