राम बहादुर जि.सी.
मुलुकको महत्वपूर्ण राजनीतिक दलका हिसावले एमालेको नेतृत्वमा को आउछ ? आम जनताको चासोको विषय हुनु स्वभाविक नै हो । एमालेले कस्तो नीति लिन्छ, कस्तो कार्यक्रम बनाउछ, योजना र कार्यक्रमका बीच कस्तो खालको तालमेल हुन्छ ? पार्टी पंक्ति मात्रै होइन स्वदेश तथा विदेशका सरोकारवालाहरुलाई समेत यसको चासो हुन्छ ।
मुलुक निर्माणको स्पष्ट योजनाका साथ लामो समयदेखि जनताका बीचमा स्थापित पार्टीको नेतृत्वले लिने नीति, योजना र कार्यक्रमले देशको आर्थिक विकास र सामाजिक रुपान्तरणलाई प्रभाव पार्दछ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७ दशक भन्दा लामो समयसम्म नेपालका कम्युनिष्टहरु टुटफुटबाट ग्रस्त छन् । माक्र्सवाद, लेनिनवाद, माओवादका नाममा विभिन्न झुण्ड बनाएर राजनीतिमा सक्रिय रहेका बामपन्थीहरुलाई एकाकार गर्ने कार्यमा समेत एमाले अग्रभागमै छ ।
यद्यपी २०५४ र २०७८ मा एमाले नै विभाजन भएर धेरै संभावनालाई पर धकेलेको छ । एकल सरकार बनाउन सक्ने अवस्थालाई कमजोर बनाएको छ । नेपालका कम्युनिष्ट पार्टीहरु मध्ये पहिलो मात्रै होइन, २०७९ को संसदीय निर्वाचनमा लोकप्रिय मत समानुपातिक तर्फ देशकै पहिलो र समग्रमा दोस्रो राजनीतिक शक्ति एमालेको नेतृत्व चयनको विषय स्वभाविक रुपमा चर्चामै छ ।
साउन पहिलो साता शुरु भएको सचिवालय वैठकबाट विधान संशोधन र नेतृत्व लगायतका विषयमा चलेको चर्चा एघारौ राष्ट्रिय महाधिवेशनसम्म आउदा एकाकार भइसकेको थियो । सचिवालय वैठकमा ७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाउने विषयमा लामै छलफल भएको थियो ।
एमालेका पूर्व उपाध्यक्ष मुलुककै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने चर्चासंगै एघारौ महाधिवेशनका लागि ७० वर्षे उमेर हद र २ कार्यकालको विषय निर्णय हुन्छ र विद्यादेवी भण्डारी अध्यक्ष हुन्छिन्, अर्थात केपी ओलीको विकल्पमा विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउछौ भन्ने एउटा तप्का सचिवालय वैठकसम्म जसरी जुर्मुराएको थियो, पोलिटव्यूरो र केन्द्रीय कमिटि वैठक हुदै विधान महाधिवशेनसम्म आइसक्दा रक्षात्मक भइसकेको थियो ।
अझै विद्या भण्डारीलाई उचालेर ओलीलाई तह लगाउने अभियानको अगुवाका रुपमा देखिएका पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद नै ११ औं महाधिवेशनमा नरहने खालको अवस्था सिर्जना भएपछि धेरै मान्छे तर्सेको अनुमान गर्न सकिन्थ्यो ।
सचिवालय वैठकले गरेको निर्णय अनुसार उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने विषयमा पोलिटव्यूरो, केन्द्रीय कमिटि र विधान महाधिवेशनले सदर गरेपछि ११ औ महाधिवेशनबाट केपी ओली अध्यक्ष बन्ने कुरा निश्चित प्राय भइसकेको थियो ।
केपी ओलीले विधान मिचे, शक्ति प्रयोग गरेर विधानको व्यवस्था हटाए, ओली निरंकुश बने, ओलीले सर्वसत्तावादी भए यस्तै यस्तै आरोप पार्टी भित्र र बाहिर निकै लगाइयो । ११ औ महाधिवेशनबाट ओलीलाई रोक्नु पर्छ भन्ने पार्टी भित्रको एउटा तप्का निरन्तर नै लागि रहे पनि मुल रुपमा ११ औ महाधिवेशनबाट मुल नेतृत्व ओली हुन् भन्ने कुरा प्रष्ट नै थियो ।
विधान महाधिवेशनले पार्टीको विधानमा ७० वर्षको उमेर हद र दुइ कार्यकाल एउटै पदमा नेतृत्व गर्न नपाइने कुरालाई खारेज गर्नुका साथै ११ औ महाधिवेशन फागुन तेस्रो साता बागलुङको ढोरपाटनमा गर्ने निर्णय ग¥यो । बागलुङ सानो ठाउँ हो ? बागलुङ नै किन राजियो ? चर्चा परिचर्चा धेरै हुन थाले ।
केपी ओली बेला बेला धेरैले नसोचेको निर्णय गर्ने नेता हुन्, उनले कुनै पनि निर्णय गर्दा धेरै नै सोच विचार गरेर गर्छन् ? पक्कै केही सोचेरै गरे होलान्, भन्ने भयो । काठमाडौं, पोखरा, विराटनगर, बुटवल जस्ता ठुला ठाउँ छोडेर बागलुङ रोज्नुको कारणका बारेमा ओलीले त सार्वजनिक रुपमा केही भनेका थिएनन् ।
तर पनि अड्कल काट्नेहरुले बागलुङ पुष्पलाल मध्यपहाडि लोकमार्गको महत्वपूर्ण ठाउँ हो । ढोरपाटन मुलुककै एकमात्र शिकार आरक्ष भएको पर्यटनको प्रसस्त संभावना भएको स्थान हो । यसलाई विश्वसामु पहिचान गराउन पनि त्यही ठाउ रोजिएको होला भन्ने विषयमा चर्चा गर्दथे ।
एमालेको राष्ट्रिय महाधिवेशन ढोरपाटनमा हुने भएपछि बागलुङ सहित गण्डकीका नेताहरु, कार्यकर्ताहरु मात्रै होइन रुकुम पूर्व सहित कर्णालीका समेत नेताहरुको जमघट ढोरपाटनमा बढेको थियो । बुर्तिबाङदेखि ढोरपाटनसम्म जाने सडकको अवस्था कमजोर थियो । एमालेको महाधिवेशन हुने भएपछि बाटो बनाउने काम द्रुत गतिमा भयो । बाटो गज्जवकै बन्यो ।
फागुनको तेस्रो साता बागलुङ बुर्तिबाङ सडकमा गाडीको लर्को देखेर बागलुङवासी जिल परेका थिए, रुकुम पूर्व हुदै ढोरपाटन आउनेहरु पनि त्यत्तिकै थिए । ढोरपाटनमा ठुला ठुला टेण्टहरु बनाइएका थिए, त्यहाँ पुग्ने नेता कार्यकर्ता, समर्थक शुभेच्छुकहरुलाई खाना बस्नको असुविधा नहोस् भन्ने विषयमा सिंगो गण्डकी एमाले सक्रिय र सचेत देखिन्थ्यो । बागलुङका विशेष गरी ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका एमाले कार्यकर्ता मात्रै होइन, आमा समुहहरु लगायत सामाजिक संघ संस्थाहरु समेत एमालेको महाधिवेशन सफल पार्न जुटेका थिए । बागलुङको लोक संस्कृतिदेखि परम्परागत सबै कुरा त्यहा देख्न पाइन्थ्यो । एमाले महाधिवेशनले ढोरपाटनलाई देश मात्रै होइन विदेशमा समेत राम्रै रुपमा चिनाउने भयो भनेर ढोरपाटन क्षेत्रका बासिन्दा औधी हौसिएर स्वागत सत्कारमा तल्लिन थिए ।
एमालेको महाधिवेशनमा विदेशी पाहुनाहरु, लगायत अन्य पार्टीका प्रमुखहरुका लागि हेलिकप्टरको व्यवस्था थियो, कार्यक्रम स्थलको सजावटदेखि आवासको व्यवस्थापन, खाना बस्न देखि सबै कुरामा सिंगो गण्डकी एमाले खटिएको थियो ।
महाधिवेशन भन्दा बढी ढोरपाटनका रमणीय ठाउमा फोटो खिच्ने, टिकटक बनाउने काम बढी देखिन्थ्यो । यस्तो लाग्थ्यो सिंगो नेपाल यति बेला ढोरपाटनमा छ ? महाधिवेन भन्दा साथ निर्वाचनको चटारो हुन्छ ? विद्युतिय मतदानदेखि सम्पूर्ण व्यवस्थापन पुरा भइसकेको थियो । झट्ट सुन्दा ढोरपाटनमा एमालेको राष्ट्रिय महाधिवेशन ? संभव हुन्छ त ? भन्ने अवस्था थियो तर ओलीले चाहेपछि र एमालेले संकल्प गरेपछि संभव छ भन्ने त्यो कार्यक्रमले देखाएको थियो । काठमाडौं, पोखरा जस्ता ठुला शहरको जस्तो होइन, ढोरपाटनमा एमालेको खासमा अर्गानिक महाधिवेशन भैरहेको थियो । खाना, बस्न लगायत सुन्दरताका हिसावले पनि आम नेता कार्यकर्ता लगायत उपस्थित सबै मान्छे निक्कै खुशी देखिन्थे ।
मुलत ः महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत नै हुने अवस्था थियो । अन्य पदमा के कसरी व्यवस्थापन हुन्छ भन्ने विषयमा सबैका आ–आफ्नै लविङ, समुह बनाउने, छलफल गर्ने काम भइनै रहेका थिए । अध्यक्षमा ओलीलाई चुनौती दिने अवस्था थिएन, इश्वर पोखरेलहरु पनि आफ्नो व्यवस्थापनको विषयमा ओलीसंग छलफल चलाइरहेका थिए, विद्यादेवी भण्डारी पूर्व राष्ट्रपतिकै रुपमा देशको अभिभावक बनेर बस्न मञ्जुर भइसकेकी थिइन ।
महाधिवेशनमा प्रस्तुत हुने सबै प्रतिवेदनहरु सर्वसम्मतीले पारित भए । त्यसपछि चुनावको रौनक शुरु भएको थियो । सबैलाई आफ्नो पद सुरक्षित गर्न थियो, नेता कार्यकर्तासंग सबै लविङमै थिए । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको थियो ।
१० औ महाधिवेशनको बन्द सत्रमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न ठुलै प्रयत्न गरेका थिए, भिम रावलले नमानेपछि ओलीले आफ्नो टिम घोषणा गर्दै यो टिमसंग असुन्तष्ट हुनेहरुले उमेदवारी दिन पाउने भन्दै निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । भीम रावल ओलीसंग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
११ औ महाधिवेशनमा पनि धेरैलाई यस्तै लागेको थियो । १० औ महाधिवेशनमा सर्वसम्मत हुन नपाएका ओली ११ औ बाट सर्वसम्मत अध्यक्ष हुने भए भन्ने अड्कल पनि काटिएकै थियो । माहोल हेर्दा अर्को कुनै पनि व्यक्तिले ओलीको विरुद्धमा उमेदवारी दिने अवस्था थिएन ।
अब ओलीले एउटा टिम घोषणा गर्छन र चित्त नबुझेकाहरुलाई उमेदवारी दर्ता गर्न आव्हान गर्छन भन्ने धेरैको मनमा थियो । ओलीको रोजाइमा पर्ने कुरैमा धेरैको लविङ थियो । नभन्दै ओलीले उमेदवारी दर्ता गर्न भन्दा पहिला आफुले केही सन्देश दिन चाहेको सूचना दिए । बन्दसत्रको हलमा सबै प्रतिनिधिलाई बोलाइयो । अनि ओलीले आफ्नै शैलीमा बन्दसत्रलाई सम्बोधन गर्न थाले । करिव डेढ घण्टाको मन्तव्यमा ओलीले पार्टीलाई एक ढिक्का बनाउन, एमालेले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्प पुरा गर्नका लागि युवाहरुको सक्रिय नेतृत्व आवश्यक पर्ने, युवाहरुलाई बढी भन्दा बढी केन्द्रीय सदस्य बनाउने विषयमा चर्चा गरिरहेका थिए । बन्द सत्रमा रहेका युवाहरु अलि बढी हौसिएका देखिन्थे ।
ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, राम बहादुर थापा, सल्लाहकार परिषदका अध्यक्ष अमृत कुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई मञ्चमा आफ्नो वरिपरी राखेका थिए ।
बोल्दै जाने क्रममा ओलीले यो मञ्चमा बसेका नेताहरुको योगदान तपाईहरुलाई थाहा छ ? यि सबै नेताहरुले एमाले निर्माणमा ठुलो संघर्ष गर्नु भएको छ । अगाडि बस्ने तपाईहरु सहित देशभरका नेता कार्यकर्ताहरुले गरेको योगदानका कारण एमाले आजको अवस्थामा आएको छ ? आगामी निर्वाचनबाट एमालेलाई एकल बहुमत सहित सरकारमा पु¥याउने जिम्मेवारी हामी सबैको हो ? त्यसैले यस पटक सर्वसम्मत रुपमा अध्यक्ष चयन गरौ, सकिन्छ सबैमा सर्वसम्मत गरौ, नसक्दा स्वस्थ प्रतिस्पर्धा गरौ ? तर निर्वाचनमा गइसकेपछि हार जित हुन्छ भन्ने कुरालाई स्वीकार गरौ र पार्टी बनाउन जुटौ भन्दै सबै प्रतिनिधिहरुबाट सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव मागे । निर्वाचन माग्ने, जसरी पनि निर्वाचन हुनै पर्छ भन्ने अनि चुनावमा गएर हारेपछि गुट बनाउदै नेतृत्वलाई सराप्दै हिड्नु गर्नु भएन ? भन्दै ओलीले संभावित असन्तुष्टीका बारेमा चर्चा गरिरहेका थिए, उनले सर्वसम्मत वा चुनाव जुनसुकै विधिबाट पनि सबैलाइ पद पुग्दैन ? तर सबै नेताहरुको व्यवस्थापन हुन्छ ढुक्क हुनुस भनिरहेका थिए ।
हलले एकमतका साथ अध्यक्ष सर्वसम्मत गर्न र अध्यक्षले पदाधिकारी समेत सर्वसम्मत चयन गर्ने जिम्मेवारी दियो । ओलीले पटक पटक मञ्चमा भएका नेताहरु सहित एमाले निर्माणमा योगदान गर्ने सबैको सम्मान गर्न आव्हान गरिरहेका थिए । म एउटा प्रस्ताव गर्छु,, अध्यक्षका लागि मेरो प्रस्ताव तपाईहरुले मान्नु हुन्छ ? भनेर ओलीले प्रतिनिधिहरुको समर्थन खोजे । प्रतिनिधिहरु ढुक्क थिए, अध्यक्ष ओली नै हुन्, सबैले कर्तल ध्वनीका साथ सहमति जनाए ।
अनि ओलीले फेरी आफ्नो भनाई शुरु गरे १० मिनेटसम्म ओलीले नेतृत्वका बारेमा चर्चा गर्दै गए, उनको प्रस्तुतीमा अब युवाले नेतृत्व गर्नु पर्छ, युवाहरु अगाडि आउनु पर्छ भन्ने नै थियो । हलमा यदाकदा बुढाले, युवा युवा भन्छन्, अध्यक्ष चाही आफै बन्न खोज्दैछन् भन्ने पनि खासखुस हुन्थ्यो ?
ओलीले १० औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु सबैलाई मञ्चमा बोलाए, सबैलाई आफ्नो नेतृत्वकालमा गरेको सहयोगका प्रति धन्यवाद दिए र भने तपाईहरुको सहयोगकै कारण एमालेलाई एउटा ठुलो संकटबाट जोगाउन म र हामी सबै सफल भएका हौ । एमाले र सूर्य चिन्ह कब्जा गर्नका लागि गरिएका तमात तिकडमहरुलाई परास्त गरेर एमालेलाई एमाले जस्तो बनाउने कुरामा योगदान गर्ने सबैलाई म धन्यवाद भन्न चाहन्छु भने । मेरो टिमले रुले मेरो कार्यकाल सफल पार्न जुन योगदान गर्नु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, अब एउटा सहयोग गर्नु हुन्छ ? भनेर प्रश्न सोधे । सबैले सहमति जनाएपछि उनले भने ‘म उमेरले साढे सात दशक भए, सक्रियताको हिसावले म अहिले पनि ४०÷४५ कै छु, कामको हिसावले अहिले पनि १८ घण्टा भन्दा बढी काम गर्छु, एमाले पार्टीलाई चौरासीमा पहिलो र एकल बहुमतको पार्टी बनाउन म कुनै पनि कसर बाकी राख्दिन, तर पनि यो महाधिवेशनबाट म अध्यक्षमा मेरो टिमको कुनै सदस्यको नाम घोषणा गर्न चाहन्छु ?’
एकछिन हलमा सन्नाटा छायो, प्रतिनिधिहरुबीचमा यो के हुदैछ, अचम्म भयो । आजको यो हलले म्याण्टेट दियो भने म घोषणा गर्छु, तपाईहरु के भन्नु हुन्छ भन्दै हलसंग सुझाव मागे ? केही प्रतिनिधिहरु अलमलमा परे, तर धेरैले तालि बजाएर सहमति जनाए । ओलीले एमालेमा एक से एक मान्छे अध्यक्ष हुन सक्ने छन् । सबै काविल छन्, ति काविल मध्येबाट एकजनालाई अध्यक्ष घोषणा गर्छु, र हामी यो मञ्चमा भएका उपाध्यक्षहरुको लाइनतिर देखाउदै उनले भने–‘हामी सबै सल्लाहकार बसेर पार्टी चलाउने जिम्मा युवालाई दिदैछौ ।’
अनि बन्दसत्रको हलमा फेरी सन्नाटा छायो । केपी ओली मञ्चबाट उठे अनि पदाधिकारीहरु भएतिर गए, शंकर पोखरेललाई अगाडि सारेर भने, ‘११ औं महाधिवेशनबाट एमालेको अध्यक्षमा म शंकर पोखरेललाई समर्थन गर्दछु, तपाईहरु सबैको समर्थन हुन्छ भन्ने कुरामा म ढुक्क छु ।’ हलमा फेरी एक पटक सन्नाटा छायो, धेरैले नसोचेको कुरा ओलीले व्यक्त गरेपछि हलमा तालीको गडगडाहट भयो ।
शंकर पोखरेल अध्यक्ष भएको हेर्ने मेरो रहर पुरा हुने भयो भनेर म निकै हर्षित भएको थिए, मेडमले किचनबाट फोन आएको छ है भन्दै कराएको आवाजले म बिउझे ? सूर्य चापागाईले मर्निङ वाक जानका लागि फोन गर्नु भएको रहेछ । कस्तो मिठो सपना देखेको थिए, अझै एक छिन देख्न पाएको भए, भनेर मुख मिठ्याउदै उठे, मुख धोए अनि मर्निङ वाक हान्निए । शंकर पोखरेलको कोर टिमले मलाई अप्ठेरोमा पार्न निकै मेहेनत गरेको छ, तर पनि यो मनले शंकर एक पटक एमालेको अध्यक्ष भएको हेर्न चाहेको छ ।
अहिलेसम्म यसो गम खादैछु, केपी ओलीले यस्तो गर्न सक्लान् ? धेरैलाई शंका लाग्न सक्छ तर म आशावादी छु, ओली अध्यक्ष भएपछि यो मुलुकमा महिला राष्ट्रपति भइन, महिला सभामुख भइन, महिला प्रधानन्यायाधीश भइन । महिला मात्रै होइन, दलितलाई अगाडि बढाउन, युवालाई अगाडि बढाउन ओलीको भूमिका अग्रणी छ ।
पार्टीमा युवाहरुलाई अगाडि बढाउने नेता पनि ओली नै हुन्, भेट्रान नेताहरु छदा छदै यही संसदमा पदम गिरी, महेश बर्ताैला, सुनिता बराल लगायतहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउने काम पनि ओली नै गरेका छन् । ११ औ महाधिवेशनबाट अध्यक्ष नै त के होला ? बढी भन्दा बढी युवाहरुलाई नेतृत्वमा पु¥याउन पनि ओली नै अग्रसर हुनु पर्ने अवस्था छ ।
धन्यवाद








