बेनी नगरपालिकाले प्रविधि प्रयोगमार्फत सेवा प्रवाहमा क्रान्तिकारी परिवर्तन गर्दै डिजिटल घर नम्बर प्रणालमा फरक तरीकाले काम गर्दै छ ।
अब नगरभित्रका हरेक घर, परिवार र स्थानको पहिचान स्पष्ट, सुरक्षित र अत्याधुनिक प्रणालीमार्फत व्यवस्थित हुनेछ। संगम म्याग्दीको सहकार्यमा UNDP को सहयोगमा अघि बढाइएको यस अभियानले सामाजिक सुरक्षादेखि आपतकालीन व्यवस्थापन, पूर्वाधार विकासदेखि जनगुनासो सम्बोधनसम्मका कार्यहरू अझ प्रभावकारी, पारदर्शी र द्रुत बनाउनेछ।

QR कोड सहितको SEVIMS प्रणाली (Smart Electronic Vulnerability Identification and Management System) लागू भएसँगै नगरबासीको आर्थिक, सामाजिक तथा जनसांख्यिक विवरण एकैपटक वडाबाटै डिजिटल पहुँचमा उपलब्ध हुनेछ। यसले तत्काल विश्लेषण, योजना निर्माण र सेवा कार्यान्वयनमा तीव्रता ल्याउनेछ।

आज UNDP का प्रतिनिधि सतिश पाण्डे सहितको टोलीसँग संयुक्त छलफलमा जनगुनासो व्यवस्थापनलाई कसरी प्रविधिमैत्री, पहुँचयोग्य र नतिजामुखी बनाउने भन्नेबारे गहन छलफल गरिएको नगर प्रमुख सुरत केसी ले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो —
“अब समस्या मात्र सुन्ने होइन, समाधानको जिम्मेवारी लिने समय हो। हामी नगरबासीको घरदैलोमै सीमित छैनौँ, समस्या समाधानको मार्गमै सक्रियतापूर्वक जुटिरहेका छौँ।”

यो प्रणाली लागू भएपछि नगरपालिकाको नीतिगत योजना, बजेट विनियोजन, विपद् व्यवस्थापन, सामाजिक सुरक्षाको वर्गीकरणजस्ता कार्यहरू भरपर्दो तथ्यांकको आधारमा गरिनेछन्।

QR कोड प्रणाली मार्फत अब नगरभित्र कुनै पनि घर, बस्ती वा व्यक्ति सेवा प्रणालीबाट छुट्ने छैनन्। डिजिटल युगको यथार्थ उपयोग गर्दै बेनी नगरपालिका अब ‘स्मार्ट गभर्नेन्स’ तर्फ दृढ गतिमा अघि बढिरहेको छ।