नेपालीहरूको महान् पर्व दसैँ, तिहारलगायतका चाडपर्वहरू नजिकिँदै गर्दा म्याग्दीको सदरमुकाम बेनीमा बुधबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, भेटेरिनरी अस्पताल म्याग्दी , बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सदरमुकाम बेनीमा सञ्चालित किराना, खाद्यान्न र मासु पसल गरी जम्मा ३२ वटा पसलमा अनुगमन गरिएको आयोजकहरूले जनाएका छन् । बेनी नगरपालिका–७ र ८ मा सञ्चालनमा रहेका पसलमा अनुगमन र निरीक्षण गरिएको थियो ।
अनुगमन गरिएको पसलबाट ९ हजार ३८० रुपैयाँ मूल्य बराबरका म्याद सकिएका दैनिक उपभोग्य खाद्यान्न सामग्री जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृत प्रसाद कँडेलले बताउनु भएको छ । जफत गरिएका सामग्रीमा सुजी, कुरकुरे, चिप्स, चिसो पेयपदार्थ चिजबल र घिउ रहेका छन् । बजार अनुगमन कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका सहन्सा महेता
, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक ढुङ्गाना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ , भेटेरिनरी अस्पताल म्याग्दी पशु स्वास्थ्य शाखा प्राविधिक खगेन्द्र बि .क , बेनी नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख डा. आशिष सापकोट लगायत सहभागी थिए । अनुगमन टोलीले पसल सञ्चालकहरूलाई नियमित सरसफाइ गर्ने, मूल्यसूची र साइनबोर्ड टाँस्ने, म्याद सकिएका सामान छुट्टै राख्ने तथा पसल दर्ता र नवीकरण गरेर मात्र सञ्चालन गर्ने सुझाव दिएको छ ।
यसैबीच म्याग्दी उद्योग वाणिज्य संघले दसैँतिहारलगायत चाडपर्वलाई लक्षित गरेर घटनास्थापनाको दिनदेखि तिहारको भाइटिकाको दिनसम्मका लागि सुपथ मूल्यसूची समेत प्रकाशन गरिएको जनाएको छ । उक्त अवधिमा पसल सञ्चालकले ग्राहकलाई सुपथ मूल्यसूची अनुसार दैनिक उपभोग्य तथा खाद्यान्न सामग्री बिक्री गर्न सुझाव दिइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसका साथै बजारमा भाँडावर्तन, फेन्सी, रङरोगन, फलफूल तथा तरकारी पसलहरुमा पनि दसैँ तिहारको अवधिभर ग्राहकहरुलाई विशेष छुटको साथ सामानहरु बिक्री वितरण गर्न अनुरोध गरिएको छ ।












