बेनी, म्याग्दी ।
बेनी नगरपालिका अन्तर्गत रत्नेचौर–भकुण्डे सडक कालोपत्रे भएको तीन महिना नबित्दै उप्किन थालेपछि पूर्वाधार निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठेको छ। यस घटनालाई लिएर नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले निर्माण क्षेत्रमा मौलाउँदै गएको लापरवाही, बेथिति र मिलेमतोको कडा आलोचना गर्नुभएको छ।
अध्यक्ष सुवेदीले म्याग्दी जिल्लामा पूर्वाधार निर्माणको नाममा गुणस्तरमा सम्झौता गर्ने, अनियमितता हुने र त्यसलाई सम्बन्धित निकायबाट स्वाभाविक जस्तो गरी टार्ने प्रवृत्ति व्याप्त रहेको बताउनुभयो। “कसको मिलेमतोमा, कस्तो लेनदेनका कारण जनताको करबाट बनेका आयोजनाहरू अल्पकालमै भत्किन बाध्य छन् भन्ने गम्भीर छानबिन आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार निर्माण क्षेत्रको यस्तो बेथिति म्याग्दी जिल्लाको ‘महारोग’ जस्तै बन्दै गएको छ, जसले जनताको ढाड सेक्ने काम गरिरहेको छ। “यस किसिमको गैरजिम्मेवार प्रवृत्ति तुरुन्त अन्त्य गर्न जरूरी छ,” सुवेदीले जोड दिनुभयो।
रत्नेचौर–भकुण्डे सडकको अवस्था उदाहरणीय मात्र नभई चेतावनीको विषय भएको उल्लेख गर्दै उहाँले अबिलम्ब सबै आयोजनासँग सम्बन्धित निकाय, निर्माण व्यवसायी, प्राविधिक, जनप्रतिनिधि तथा आम सरोकारवालाबीच बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको छ। यसका लागि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुखलाई ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष सुवेदीले निर्माण क्षेत्रको बेथितिविरुद्ध सबै नागरिकलाई आ–आफ्नो ठाउँबाट खबरदारी गर्न आह्वान गर्दै भन्नुभयो, “जो जहाँ छौँ, त्यहीँबाट सचेतना र निगरानीको सुरुवात गरौँ। गुणस्तरीय निर्माण हाम्रो अधिकार हो, र यसको सुनिश्चितता सामूहिक दायित्व हो।”
नौ मिटर चौडाइको सो सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी गर्ने सम्झौता छ। उक्त योजनाका लागि २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो। ३० महिनामा सम्पन्न गर्ने म्याद रहेकामा पुनः आगामी फागुनसम्म काम गर्ने म्याद थप भएको छ।
सडक डिभिजनका अनुसार हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ। सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख लामिछानेले सडकमा देखिएको समस्यालाई सुधार गर्न लगाइने प्रतिबद्धता जनाए।
निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईंले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्डअनुसार बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।








