वैदेशिक रोजगारी र स्थायी बसोबासका लागि विदेश पलायन हुने क्रम बढेसँगै म्याग्दीमा नेपाली नागरिकता त्याग्नेहरूको संख्या बढ्दो छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा विदेशी नागरिकता लिएर नेपाली परिचय त्याग्ने म्याग्देलीहरूको संख्यामा वृद्धि भएको हो ।

चालू विक्रम संवत २०८२ को वैशाख १ गतेदेखि पुस १६ गतेसम्मको अवधिमा मात्रै जिल्लाका १२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । नागरिकता त्याग्नेहरूमा जापान, बेलायत र हङकङका २–२ जना रहेका छन् भने मेसोडोनिया, नेदरल्याण्ड्स, क्यानडा, स्वीडेन, बेल्जियम र अष्ट्रेलियाको नागरिकता लिने १–१ जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार विगतका वर्षहरूमा पनि नागरिकता त्याग्नेको संख्या उच्च देखिन्छ । २०८१ वैशाखदेखि चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा अमेरिका (५), बेलायत (३), हङकङ (२), जर्मनी (२) सहित न्युजिल्याण्ड, बेल्जियम र स्वीडेनका १–१ जनाले नेपाली नागरिकता छाडेका थिए ।

एनआरएन नागरिकता लिने पनि बढे नेपाली नागरिकता त्यागे पनि नेपालसँगको सामाजिक र आर्थिक सम्बन्ध कायम राख्न ‘गैरआवासीय नेपाली नागरिकता’ (NRN Citizenship) लिनेहरूको संख्या पनि उल्लेख्य छ । वि.सं. २०८० मा ३० जनाले भने २०८१ मा २४ जना र २०८२ वैशाख १ देखि पुस १६ गतेसम्मको अवधिमा १२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

६६ जनाले लिए गैरआवासीय (NRN) नागरिकता
नेपाली नागरिकता त्यागे पनि आफ्नो पुख्र्यौली थलोसँगको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध कायम राख्न ‘गैरआवासीय नेपाली नागरिकता’ लिनेहरूको आकर्षण बढेको देखिन्छ । तथ्याङ्कअनुसार वि.सं. २०८० देखि २०८२ पुस मध्यसम्म ६६ जनाले म्याग्दीबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् । चालू वर्षको वैशाखयता मात्रै १२ जनाले यस्तो नागरिकता लिइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यका अनुुसार वैदेशिक मोहका कारण नागरिकता त्याग्ने क्रम चुनौतीपूर्ण रहेको बताउनुभयो ।

“हालसम्म ८२ जनाले नेपाली नागरिकता त्यागिसकेका छन् भने २०८० सालदेखि हालसम्म ६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिइसकेका छन्,” सहायक प्रमुख जिल्ला अधिकारीले आचार्यका भन्नुभयो, “विदेशमा घरजम र स्थायी बसोबास मिलाएका व्यक्तिहरूले स्वेच्छाले नागरिकता त्याग गर्ने र पछि नेपालमा लगानी वा सम्पत्तिको सुरक्षाका लागि एनआरएन नागरिकता लिने गरेको पाइन्छ ।”

दक्ष युवा जनशक्ति स्थायी रूपमै विदेश पलायन हुने र देशको नागरिकता समेत त्याग्ने यो प्रवृत्तिले म्याग्दीको सामाजिक र जनसांख्यिक संरचनामा दीर्घकालीन असर पार्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।