म्याग्दी, चैत २० गते । म्याग्दीको सडक योजनामा कार्यरत मजदुरहरुले ज्याला नपाएको भन्दै ठेकेदारको गाडी र डोजर बेनीमा रोकेका छन्। बेनी–दरबाङ सडकअन्तर्गत निर्माणाधीन रणबाङ–दरबाङ खण्डको सडक स्तरोन्नति योजनामा संलग्न मजदुरहरुले आफ्नो मेहनताना नपाएको भन्दै विरोध जनाएका हुन्।
मजदुरहरुले प्रदेश २–०३ को ००१ क ०१३४ नम्बरको गाडीमा लोड गरिएको डोजरसहित गाडीलाई रोकेका छन्। उनीहरुले लामो समयदेखि काम गरेको भए पनि उचित ज्याला नपाएको गुनासो गर्दै मजदुरीको भुक्तानी नभएसम्म कार्यस्थलमै विरोध जारी राख्ने चेतावनी दिएका छन्।
सडक स्तरोन्नति योजनाको ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले विगत दुई वर्षदेखि काम गरेका २५ जना मजदुरलाई करिब ३० लाख रुपैयाँ पारिश्रमिक नदिएको गुनासो छ। रुकुम चौरजहारी नगरपालिका–८ का मजदुर तुलराम सार्कीका अनुसार, काम गरेको ज्याला नपाएपछि मजदुरहरुलाई बिहान बेलुका छाक टार्नसमेत कठिन भएको छ।
“२०७८ सालमा काम गरेको ज्याला हामीले अझै पाएका छैनौं। पटक–पटक ज्याला माग्दा ठेकेदारले हाम्रो कुरा सुनेन। त्यसैले न्यायका लागि ठेकेदारको गाडी र डोजर रोकेका हौं। ज्याला नपाएसम्म हामीले छाड्दैनौं। सम्बन्धित निकायले मजदुरलाई न्याय दिलाइदिनुपर्छ,” मजदुर सार्कीले भने।
ज्याला भुक्तानी नगरेसम्म कार्यस्थलबाट उपकरण लैजान नदिने मजदुरहरुको चेतावनी रहेको छ। तर सोमबार राति उपकरण लोड गरेर ठेकेदार हिँडेपछि मजदुरहरुले प्रहरीलाई खबर गरी बेनीमा गाडी रोक्न लगाएका थिए। मजदुर सार्कीका अनुसार, मंगलबार रातभर मजदुरहरुले गाडी कुरेर बसेका थिए।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा यसअघि पटक–पटक छलफल भए पनि ठेकेदारले रकम भुक्तानी गर्न अटेर गरेको मजदुरहरुको गुनासो छ। “हामीले ज्याला नपाएसम्म कार्यस्थलबाट उपकरण नलैजान ठेकेदारलाई दबाब दिएका थियौं,” सार्कीले भने, “तर रातारात उपकरण लोड गरेर लैजान थालेपछि हामीले प्रहरीलाई खबर गरी बेनीमा रोकेका छौं। ज्याला नपाएसम्म लैजान दिन्नौं।”
बेनी नगरपालिका गेटअगाडि मजदुरहरुले दुई दिनदेखि उक्त डोजर र गाडी रोकेका छन्। उनीहरु रातभर गाडीको निगरानी गरिरहेका छन्। मजदुरहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमक्ष ज्याला दिलाइदिन अनुरोध गरे पनि कुनै सहयोग नपाएको गुनासो छ।
क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरी २०७९ मंसिर १५ गतेदेखि २०७९ चैत मसान्तसम्म काम गरेका मजदुरहरुको रकम ठेकेदार कम्पनीका प्रवन्ध निर्देशक चन्द्रप्रकाश थकालीले उपलब्ध नगराएको मजदुरहरुको आरोप छ। रकम माग्दा उल्टै धम्की दिएको क्युपेक नेपालकी केन्द्रीय सचिव बलादेवी राईले बताएकी छिन्। ठेकेदार कम्पनीले मजदुरहरुलाई ज्याला भुक्तानी नगरेसम्म गाडी र डोजर नछाडिने र आन्दोलन चर्काउने चेतावनी मजदुरहरुले दिएका छन्।








