म्याग्दी, चैत २० – नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनको क्रममा आगजनी हुँदा पत्रकार रजकको जलेर मृत्यु भएको थियो। आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजक आगजनीमा परेका कारण अकालमै ज्यान गुमाउन पुगेका थिए।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमका अनुसार पत्रकार रजकको मृत्युमा संलग्नलाई कडा कारवाही गर्नुका साथै पत्रकारिताको स्वतन्त्रता सुरक्षित गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षण गराइएको हो। महासंघले दोषीहरुलाई तत्काल पक्राउ गरी कानुन बमोजिम सजाय दिनुपर्ने माग राखेको छ।
सोही आन्दोलनका क्रममा अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी, कान्तिपुर टेलिभिजन तथा हिमालयन टेलिभिजनका संरचनामा क्षति, पत्रकार दिनेश गौतममाथि भएको आक्रमणबाट खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको जस्ता घटनाहरु घटेका छन्। महासंघले यस्ता घटनाका दोषीलाई कारवाही गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति तथा घाइते पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई महासंघका अध्यक्ष हरिकृष्ण गौतम र संस्थापक अध्यक्ष घनश्याम खड्काले संयुक्त रुपमा ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका थिए। प्रजिअ ढकालले पत्रकार सुरक्षाको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएको बताउँदै ध्यानाकर्षणपत्रमा उल्लेखित मागलाई सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो। पत्रकार महासंघले एक हप्ताभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।








