म्याग्दीको सदरमुकाम बेनी बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । ग्यासको आपूर्तिमा कमी नभएको सरकारी दाबी रहे पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

केही दिनदेखि एउटै सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको स्थानीय उपभोक्ता बताउँछन् । ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै रित्तो हात फर्काइदिने गरेपछि सर्वसाधारणमा चिन्ता व्यक्त गरेका छन ।

भन्सार भन्छ– आयात नियमित छ, व्यापारी भन्छन्– ग्यास नै आएन

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार ग्यासको आयातमा कुनै अवरोध छैन । निर्वाचनका कारण केही दिन सामान्य समस्या देखिए पनि अहिले दैनिक रूपमा ग्यासका बुलेटहरू नेपाल भित्रिने क्रम जारी रहेको उनले बताए ।
यता, बेनीका स्थानीय ग्यास विक्रेताहरू भने कम्पनीबाटै पर्याप्त ग्यास उपलब्ध नभएको बताउँछन् । मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको जिकिर छ ।

होर्डिङ र तस्करीको आशंका
बजारमा अभाव देखिनुको एउटा मुख्य कारण ‘होर्डिङ’ लाई मानिएको छ । सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्न थालेपछि बजारमा दबाब बढेको हो । पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास अहिले पसलमा आउनासाथ केही घण्टामै सकिने गरेको छ ।

अर्कोतर्फ, सीमावर्ती क्षेत्रमा नेपाली ग्यास भारततर्फ तस्करी हुने गरेको सूचनाले पनि बजारलाई प्रभावित पारेको छ । भारतीय बजारमा ग्यासको मूल्य बढी भएकाले नेपालबाट लुकीछिपी सिलिण्डर सीमा पार गराउने गिरोह सक्रिय भएको आशंका गरिएको छ ।

प्रशासनको चेतावनी : कृत्रिम अभाव भए कारबाही हुन्छ
जिल्लामा ग्यासको समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले बजार अनुगमनलाई तीव्र बनाउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यले बजारमा देखिएको समस्या समाधानका लागि प्रशासन सक्रिय रहेको बताए ।

“बजारमा ग्यासको अभाव भएको गुनासो हामीले प्राप्त गरेका छौं । आयात नियमित भइरहेको अवस्थामा उपभोक्ताले ग्यास नपाउनु गम्भीर विषय हो,” सहायक प्रजिअ आचार्यले भने, “हामीले व्यवसायी र सम्बद्ध निकायसँग समन्वय गरिरहेका छौं । कसैले कृत्रिम अभाव सिर्जना गरेको वा कालोबजारी गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ ।”

उनले उपभोक्तालाई पनि नआत्तिन र आवश्यकताभन्दा बढी ग्यास भण्डारण गरेर बजारमा दबाब नजन्माउन आग्रह गरेका छन् ।