सुक्खायामको सुरुवातसँगै जिल्लाका विभिन्न वन क्षेत्रमा डढेलोको जोखिम बढेपछि म्याग्दीमा सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायहरूले एकीकृत नियन्त्रण रणनीति तय गरेका छन् । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न उच्चस्तरीय बैठकले ‘वन डढेलो लाग्नै नदिने र लागिहालेमा तत्काल सुरक्षित रूपमा नियन्त्रण गर्ने’ साझा संकल्प गरेको छ ।
बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले वन डढेलो प्राकृतिक सम्पदा मात्र नभई मानवीय सुरक्षाका लागि समेत चुनौती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि प्रशासन, सुरक्षा निकाय र स्थानीय समुदायबीच ‘रियल टाइम’ समन्वय आवश्यक छ । हामीले सूचना पाउने बित्तिकै परिचालन हुने गरी संयन्त्र तयार गरेका छौँ ।”
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख वसन्त केशव अधिकारीले डढेलोको प्राविधिक पक्ष र नियन्त्रणका चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै जिल्लाका जोखिमयुक्त क्षेत्रहरूमा विशेष निगरानी बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय लापरबाहीका कारण डढेलो लाग्ने घटना बढी हुने भएकाले समुदायस्तरमा चेतनामूलक कार्यक्रमलाई तीव्रता दिइनेछ ।
डढेलो नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायहरू—नेपाली सेनाको गुरु गोर्खा गुल्मका प्रमुख राकेश बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सुर्य थापा, र सशस्त्र प्रहरी बल (गलेश्वर) का प्रमुख लिला बहादुर भुजेलले आ-आफ्नो युनिटबाट आवश्यक जनशक्ति र उपकरणसहित ‘स्ट्यान्डबाइ’ रहने प्रतिबद्धता जनाउनुभयो ।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वन जोगाउने दायित्व स्थानीय सरकारको पनि भएको भन्दै डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन र स्वयंसेवक परिचालनमा नगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो । त्यस्तै, जिल्ला समन्वय समितिकी प्रमुख डिलकुमारी खत्रीले डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्य र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सञ्चार माध्यममार्फत सचेतना फैलाउनुपर्ने सुझाव राख्नुभएको थियो । बैठकले ‘वन डढेलो : एक जानकारी’ अभियानअन्तर्गत जिल्लाभरि सचेतनामूलक सामग्री वितरण गर्ने निर्णय समेत गरेको छ ।
वन ऐनअनुसार वनमा आगो लगाउने व्यक्तिलाई क्षतिपूर्तिको बिगो असुल गरी जेल सजाय र जरिवाना हुने कानुनी प्रावधान भए पनि म्याग्दीमा वर्षेनी डढेलोले ठूलो मात्रामा वनस्पति र वन्यजन्तुको क्षति हुने गरेको छ ।









