बेनी, ६ चैत ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बेनी नगरपालिका–२, बगरफाँटस्थित बुद्ध एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूका लागि लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा रोकथाम सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भुपेन्द्र गोतामेले विद्यार्थीहरूलाई लागूऔषधको परिभाषा, यसका प्रकार, दुर्व्यसनले शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने असर र कानुनी प्रावधानबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।
विशेष गरी विद्यालय उमेरका बालबालिकाहरू कौतुहलता वा साथीभाइको लहलहैमा लागेर कुलतमा फस्ने जोखिम रहने भएकाले उनीहरूलाई समयमै सचेत गराउन यो कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ।
प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक गोतामेले भन्नुभयो— “विद्यार्थी जीवन भविष्य निर्माणको जग हो। लागूऔषधको एउटै सानो गल्तीले तपाईंको उज्ज्वल भविष्य, परिवारको सपना र समाजको प्रतिष्ठा सखाप पार्न सक्छ। त्यसैले ‘लागूऔषधलाई आजैबाट नाईं’ भन्न सिक्नुहोस् र आफ्नो वरिपरि कसैले यस्तो कार्य गरेको देखेमा प्रहरीलाई खबर गर्नुहोस्।”
कार्यक्रममा बुद्ध एकेडेमीका शिक्षक, कर्मचारी तथा ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरूमा पुगेर सामाजिक विकृति र विसंगति विरुद्ध सचेतना फैलाउने अभियानलाई तीव्रता दिएको छ।









