बेनी नगरपालिका–१, रत्नेचौरमा सञ्चालित तीन दिने ‘व्यवस्थित बाख्रा पालन तालिम तथा पशु स्वास्थ्य शिविर’ मंगलबार सम्पन्न भएको छ। रत्नेचौर सामुदायिक सिकाई केन्द्रको आयोजना र बेनी नगरपालिका वडा नं. १ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले कृषि र पशुपालनलाई आधुनिकीकरण नगरेसम्म नगरपालिकाको समृद्धि सम्भव नभएको बताउनुभयो। “हामीले परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्यागेर व्यावसायिकतातर्फ लाग्नुपर्छ,” प्रमुख केसीले भन्नुभयो, “नगरपालिकाले कृषकको उत्पादनलाई बजारसँग जोड्न र प्राविधिक सहयोग उपलब्ध गराउन सधैं प्राथमिकता दिनेछ ।”
त्यस्तै, वडा अध्यक्ष टेक बहादुर थापाले वडाभित्रका कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “रत्नेचौरका हरेक घरधुरीलाई पशुपालनमार्फत आर्थिक रूपमा सबल बनाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु।”
शिविरमा पशुहरूको स्वास्थ्य परीक्षण तथा औषधि वितरण समेत गरिएको थियो। बेनी नगरपालिका पशु शाखाका प्रमुख आशिष् सापकोटाले कृषकहरूलाई बाख्रामा लाग्ने रोग, नश्ल सुधार र हिउँदमा पशु आहाराको व्यवस्थापन कसरी गर्ने भन्नेबारे प्राविधिक प्रशिक्षण दिनुभएको थियो। उहाँले बाख्रा पालनमा साना–साना प्राविधिक कुरामा ध्यान दिन सके मृत्युदर घटाएर मनग्य आम्दानी गर्न सकिने बताउनुभयो।
चैत २२ गतेदेखि सुरु भएको उक्त शिविरमा वडा नं. १ का २०० भन्दा बढी कृषकहरूको सहभागिता रहेको थियो। शिविरमा स्थानीयले पालेका बाख्रा, गाई र भैंसीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि समेत प्रदान गरिएको आयोजकले जनाएको छ।









