बेनी । बेनी बजारमा केही समयदेखि बेवारिसे अवस्थामा बस्दै आएका ३ पुरुष र १ महिलालाई बेनी नगरपालिकाको टोलीले उद्धार गरेको छ। सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका उनीहरूलाई सुरक्षित व्यवस्थापनका लागि मानव सेवा आश्रम, बागलुङ पठाइएको हो।
नगरपालिकाका अनुसार सामाजिक दायित्वअन्तर्गत उनीहरूको स्वास्थ्य, सुरक्षा र पुनःस्थापनालाई ध्यानमा राख्दै उद्धार कार्य गरिएको हो। उद्धारपछि आवश्यक समन्वय गरी आश्रममा जिम्मा लगाइएको जनाइएको छ।
यस विषयमा बेनी नगरपालिका नगर प्रमुख सुरत केसी ले भन्नुभयो, “समाजमा कोही पनि बेवारिसे र असहाय अवस्थामा बस्न नपरोस् भन्ने हाम्रो जिम्मेवारी हो। यस्ता व्यक्तिहरूको उद्धार र व्यवस्थापनमा नगरपालिका सधैं सक्रिय रहनेछ।”
बेनी नगरपालिकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।









