म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरूकोटस्थित बिमिराबोटकी सरस्वती थापा घिमिरेले घरमै जिल्ला हुलाक कार्यालयमार्फत घरमै राहदानी (पासपोर्ट) पाउनुभयो । बुधबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले घरमै पुगेर सरस्वतीलाई छोराछोरीको समेत गरी चारवटा पासर्पोट उपलब्ध गराएपछि दंग पर्नुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची स्वीकृत गराएर नागरिकलाई सेवा प्रवाह प्रभावकारी बनाउने काममा राहदानी र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुलाकमार्फत घरमै पु¥याउने उल्लेख गरेपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले बुधबारदेखि सेवा सुरू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यले ज्यामरुककोटबाट सेवाको सुभारम्भ गर्नुभएको थियो । सोही अवसरमा वडा अध्यक्ष यामबहादुर कार्कीले जनताको घरदैलोमा सेवा दिने सरकारको अभियानलाई वडाका जनप्रतिनिधि सहित जनशक्तीलाई समेत आवश्यकता अनुसार परिचालन गर्ने बताउनुभयो । बुधबार बेनी नगरपालिका–२ ज्यामरुककोट, खवरा र वडा नं ६ चुत्रेनीमा ७ वटा राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

‘अब पासर्पोट घरदैलोमै आउँछ, सबै पालिकाका हुलाकमार्फत चिठीजस्तै घरदैलोमै पु¥याउँछौ’ कार्यालय प्रमुख थापाले भन्नुभयो । जिल्ला हुलाकमा कार्यरत जनशक्तीबाट नेपाल सरकारको निति अनुसार सेवा प्रवाहलाई तिब्रता दिने कार्यालय प्रमुख थापाको भनाई छ । हुलाक सेवालाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने गरी आवश्यक स्रोतसाधन समेत थप गर्ने तयारी भइरहेको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयमार्फत सेवा प्रवाह गर्ने बताउनुभयो । ‘यो निशुल्क सेवा हो, थप सेवाहरुलाई पनि घरदैलोमै ल्याउने गरी योजना बनिरहेको छ’ प्रजिअ आचार्यले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राहदानी उपलब्ध हुदाँ वित्तिकै हुलाक कार्यालयलाई उपलब्ध गराउने विधि र प्रक्रिया समेत सुरु गरेको छ ।