बेनी नगरपालिकाभित्रका महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले ५ दिने ‘अचार बनाउने तालिम’ सुरु भएको छ। कालिगण्डकी आमा समूहको आयोजना र बेनी नगरपालिका वडा नं. ८ को सहयोगमा बेनीस्थित थकाली समाज घरमा तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले स्थानीय स्रोत र साधनको परिचालन गरी महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो। “हामीले केवल तालिमका लागि तालिम मात्र दिने होइन, सिकेको सीपलाई बजारसँग जोडेर व्यावसायिक रूपमा अघि बढ्न आवश्यक छ,” प्रमुख केसीले भन्नुभयो, “नगरपालिकाले साना उद्यमीहरूलाई प्रवर्द्धन गर्न सधैं सहयोग गर्नेछ।”

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले तालिमबाट प्राप्त हुने सीपले घरायसी काममा मात्र सीमित नभई महिलाहरूको व्यक्तित्व विकास र आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “व्यावसायिक सीप विकासले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन मद्दत गर्छ। उत्पादित सामग्रीको गुणस्तर र ब्रान्डिङमा ध्यान दिन सके यसले राम्रो आम्दानी दिनेछ।”

यस्तै, बेनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले वडाभित्रका महिलाहरूको क्षमता अभिवृद्धिका लागि वडाले बजेट विनियोजन गरी यस्ता कार्यक्रमहरू ल्याएको जानकारी दिनुभयो। “वडा नं. ८ लाई उद्यमशील वडा बनाउने हाम्रो संकल्प छ। तालिम पछि समूहमा मिलेर उद्योग सञ्चालन गर्न चाहने महिलाहरूलाई वडाले थप प्राविधिक र प्रशासनिक सहयोग गर्नेछ,” कर्माचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिममा सहभागी एक प्रशिक्षार्थीले खुसी व्यक्त गर्दै भन्नुभयो, “हामीले घरमा सामान्य तरिकाले अचार बनाउँदै आएका थियौँ, तर यहाँ व्यावसायिक रूपमा विभिन्न थरीका अचार कसरी बनाउने र लामो समयसम्म कसरी सुरक्षित राख्ने भन्ने नयाँ कुरा सिक्न पाइरहेका छौँ। यो सीपले हामीलाई आफ्नै व्यवसाय सुरु गर्ने हौसला दिएको छ।”