बेनी, म्याग्दी — २६५० औँ लुम्बिनी दिवस (बुद्ध जयन्ती) को पावन अवसरमा म्याग्दी बौद्ध संघले बेनीस्थित बेनी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरी कार्यक्रम सम्पन्न गरेको छ।

म्याग्दी बौद्ध संघको आयोजना र म्याग्दी बौद्ध संघ महिला समितिको संयोजनमा बिहीबार प्रदेश अस्पताल (बेनी अस्पताल) मा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो। बुद्धको शान्ति र करुणाको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा म्याग्दी बौद्ध संघका अध्यक्ष एजनलाल शाक्य, महिला समितिकी अध्यक्ष एवं कार्यक्रम संयोजक टकसरा राना, संघका अन्य पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका बारेमा बोल्दै संयोजक टकसरा रानाले बुद्ध जयन्तीको विशेष दिनमा असहाय र बिरामीको सेवा गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो: “हामीले बुद्धको शिक्षालाई केवल मन्त्रमा मात्र सीमित नराखी सेवामा बदल्न खोजेका हौँ। अस्पतालमा उपचाररत दाजुभाइ तथा दिदीबहिनीहरूलाई थोरै भए पनि राहत र हौसला मिलोस् भन्ने उद्देश्यले यो फलफूल वितरण कार्यक्रम राखेका हौँ। मानव सेवा नै वास्तविक धर्म हो भन्ने सन्देश हामी दिन चाहन्छौँ।”

संघका अध्यक्ष एजनलाल शाक्यले पनि बुद्ध जयन्तीलाई कर्मकाण्डमा मात्र सिमित नगरी सामाजिक उत्तरदायित्वका कामहरू गरेर मनाइएको जानकारी दिनुभयो। अस्पताल प्रशासनले बौद्ध संघको यो मानवीय कार्यप्रति आभार व्यक्त गरेको छ।