राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनी नगर समितिको प्रथम नगर अधिवेशनबाट राज बहादुर केसी सभापतिमा निर्वाचित हुनुभएको छ।

सभापति पदका लागि भएको निर्वाचनमा राजबहादुर केसी र सरोज कुमार बानियाँबीच प्रतिस्पर्धा भएको थियो। बेनी नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व गरेका १६१ जना प्रतिनिधिमध्ये ११२ जनाले मतदान गरेका थिए। निर्वाचन परिणामअनुसार केसीले ९९ मत प्राप्त गरी विजयी हुनुभयो भने बानियाँले १२ मत प्राप्त गर्नुभयो। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

अधिवेशनबाट यादव सुवेदी उपसभापति, कासीराम घिमिरे सचिव, जमुना घर्ती क्षेत्री सह–सचिव तथा गणेश शर्मा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी कमला दर्जी, सुबास थापा, मनकुमारी थापा लगायत सदस्यहरू पनि निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनकै क्रममा शपथ ग्रहण गराइएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै रास्वपा म्याग्दीका सभापति युवराज रोकाले बेनी नगर समितिको गठनले पार्टी संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुरूप सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्दै संगठन विस्तारमा सक्रिय हुन नवनिर्वाचित टोलीलाई आग्रह गर्नुभयो।

रोकाले भन्नुभयो, “रास्वपाको मूल उद्देश्य नागरिकको विश्वास जित्दै सकारात्मक राजनीतिक संस्कारको विकास गर्नु हो। बेनी नगर समितिको नयाँ नेतृत्वले जनतासँग प्रत्यक्ष जोडिएर पार्टीका नीति, सिद्धान्त र अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिएको छु।”
उहाँले म्याग्दी जिल्लाभर संगठन विस्तार, युवा सहभागिता वृद्धि तथा जनसरोकारका विषयमा पार्टीलाई अझ सक्रिय बनाइने बताउनुभयो।

नवनिर्वाचित सभापति राजबहादुर केसीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिएकोमा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै बेनी नगरभित्र पार्टी संगठनलाई थप सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता जनाउनुभयो।