७० बर्षको उमेरमा नागरिकता म्याग्दीको मालिका गाउँपालिका–६,डाँडाखर्ककी राममायाँ खत्रीले ७० बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र लिनुभएको छ । एकल महिला र शारीरिक रूपमा अपाङ्ग खत्रीलाई जिल्ला प्रशासनमा अन्य सेवाग्राहीजस्तै भिडमा राखिएन् । प्रजिअको कार्यकक्षमा राखेर नागरिकता दिइयो ।
गाउँमा आफ्नो उमेरमा साथीहरूले सामाजिक सुरक्षा भत्ता खाने उमेरमा नागरिकता समेत नभएको गुनासो घरमा बराम्बार गरेपछि कान्छो भाई गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै ७० वर्षीय राममायाँको हातमा नागरिकता पर्यो ।
मंगलबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुसी छल्किएको थियो । विसं २०१३ सालमा जन्मिनुभएकी राममायाँको एउटा हात चल्दैन । नागरिकता पाएसँगै अब वृद्घभत्ताले औषधि उपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने बृद्धा राममायाँले बताउनुभयो ।
‘नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइन्छ’ रामायाँले भन्नुभयो । नागरिकतासँगै राष्ट्रि«य परिचयपत्र समेत बनाएपछि भाईको जिम्मेवारी पुरा भएको गर्भे खत्रीको भनाई छ । जीवनको उत्तरार्धमा पुगेको अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको प्रजिअ आचार्यले बताउनुभयो ।








