जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका एक कैदीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ। सम्मानित कास्की जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ७ वर्षको कैद सजाय फैसला भई कास्की कारागारमा कैद भुक्तान गरिरहेका ५४ वर्षीय कृष्ण बहादुर सार्की म्याग्दीबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखरा महानगरपालिका वडा नं. ०९ स्थायी ठेगाना भएका सार्की कास्की कारागारमा रहँदा सह-नाइके/मोडा नाइकेको जिम्मेवारीमा थिए । उनी केही समय अगाडि भएको ‘जेन-जी आन्दोलन’ को मौका छोपी कारागारबाट फरार हुन सफल भएका थिए ।

फरार रहेका सार्कीलाई मिति २०८२ जेठ २२ गते बेलुका अन्दाजी ९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको विशेष प्रहरी टोलीले बेनी नगरपालिका वडा नं. ०९, गलेश्वर क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपश्चात् बाँकी कैद भुक्तान गराउने प्रयोजनका लागि कारागार कार्यालय बेनी, म्याग्दी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक (प्र.नि.) सागर तिमिल्सिनाले जानकारी दिनुभएको छ।