म्याग्दी, जेठ २१ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बेनी नगरपालिका–७ स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा विद्यालयमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरिएको थियो। साथै कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले लागूऔषध दुर्व्यसन, बहुविवाह तथा जातीय छुवाछुत सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणमा लागूऔषधको दुष्प्रभाव, कानुनी व्यवस्था, सामाजिक विकृति तथा जातीय विभेद न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो। विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बन्न, कानुनको पालना गर्न तथा सामाजिक सद्भाव कायम राख्न प्रेरित गरिएको प्रहरीले जनाएको छ।
विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा प्रहरीको सहभागिता रहेको थियो।








