बेनी, म्याग्दी — जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बेनी नगरपालिका–२ स्थित अर्जुन माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा पैदल यात्रुको सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले ट्राफिक नियमको पालना केवल चालकका लागि मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी भएको बताए। उनले विद्यालय तहबाटै ट्राफिक शिक्षाको विकास गर्न सके दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुग्ने उल्लेख गरे।

प्रमुख दर्जीले भने, “सडकमा हिँड्ने प्रत्येक व्यक्ति ट्राफिकका सहभागी हुन्। ट्राफिक नियमको सामान्य ज्ञान र सचेतनाले धेरै दुर्घटना रोक्न सकिन्छ। विद्यार्थीहरूले आज सिकेका कुरालाई आफ्नो परिवार र समुदायसम्म पुर्‍याउन सके यसको प्रभाव अझ व्यापक हुनेछ।”

उनले सवारी साधन चलाउँदा गति नियन्त्रण, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, जथाभावी सडक पार नगर्ने तथा ट्राफिक संकेतको सम्मान गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक नियमबारे प्रत्यक्ष जानकारी पाउँदा आफूहरू थप सचेत बनेको बताएका छन्।

कक्षा १० की छात्राले ट्राफिक नियमबारे पुस्तकमा पढे पनि प्रहरीबाट प्रत्यक्ष जानकारी प्राप्त गर्दा व्यवहारिक ज्ञान बढेको बताइन्। “सडकमा हिँड्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानीबारे धेरै कुरा सिक्न पाइयो। अब हामी आफैं सचेत हुने र अरूलाई पनि सचेत गराउनेछौं,” उनले भनिन्।

त्यस्तै कक्षा ९ का विद्यार्थीले ट्राफिक सचेतना कार्यक्रम निकै उपयोगी रहेको उल्लेख गर्दै विद्यालयस्तरमा यस्ता कार्यक्रम नियमित हुनुपर्ने बताए । “हेल्मेटको महत्व, जेब्राक्रसिङको प्रयोग र दुर्घटनाबाट बच्ने उपायबारे राम्रो जानकारी पाइयो,” उनले भने।
विद्यालय प्रशासनले पनि विद्यार्थीमा अनुशासन, जिम्मेवारी र सुरक्षित व्यवहार विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले आगामी दिनमा जिल्लाका अन्य विद्यालयहरूमा समेत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।