म्याग्दीमा बढ्दो मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सर्पको सुरक्षित उद्धारका लागि सरोकारवालाहरूलाई विशेष तालिम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय, म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा ‘मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा सर्प उद्धार तालिम’ सम्पन्न भएको हो । तालिममा वन्यजन्तु उद्धारकर्ता एवं विज्ञ प्रबिन पाण्डेले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभएको थियो । उहाँले वन्यजन्तु र मानवबीचको द्वन्द्व कसरी कम गर्ने, बस्तीमा पसेका वन्यजन्तु र विषालु तथा अविषालु सर्पहरूलाई बिनाक्षति कसरी सुरक्षित रूपमा उद्धार गर्ने भन्नेबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी बल म्याग्दी र बेनी नगरपालिकाका नगर प्रहरीका साथै स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
तालिम समापनको अवसरमा बोल्दै डिभिजन वन कार्यालय, म्याग्दीका कार्यालय प्रमुख वसन्त केशव अधिकारीले वन्यजन्तु र मानव दुवैको अस्तित्व रक्षाका लागि यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यालय प्रमुख अधिकारीले भन्नुभयो:”जलवायु परिवर्तन र बासस्थानको संकुचनका कारण पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । विशेषगरी सर्प र अन्य वन्यजन्तु बस्तीमा पस्दा नागरिकमा त्रास फैलिने र आक्रोशमा वन्यजन्तुलाई मारिने घटनाहरू हुने गरेका छन् । यो तालिमले सुरक्षाकर्मी र सरोकारवालाहरूलाई प्राविधिक रूपमा सक्षम बनाएको छ, जसले गर्दा आगामी दिनमा कुनै पनि वन्यजन्तु वा सर्पको फेला पर्दा स्थानीय प्रशासन र वन कार्यालयले तत्कालै सुरक्षित उद्धार गरी प्राकृतिक बासस्थानमा छाड्न सक्नेछन् । जैविक विविधताको संरक्षण र नागरिकको सुरक्षाका लागि डिभिजन वन कार्यालय सदैव संवेदनशील छ ।”
तालिममा सहभागी सुरक्षाकर्मीहरूले वन्यजन्तु र सर्प उद्धारका आधुनिक सामग्री र विधिको बारेमा व्यावहारिक ज्ञान पाएकाले कार्यक्षेत्रमा आइपर्ने यस्ता समस्यालाई अब सहजै व्यवस्थापन गर्न सकिने बताएका छन् ।








