म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका रामप्रसाद पौडेलको कविता सङ्ग्रह ‘स्मरण विम्बमा आमा’ सार्वजनिक गरिएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो। स्वर्गीय आमाको स्मृति र मातृत्वको महिमालाई केन्द्रमा राखेर तयार पारिएको यस सङ्ग्रहमा लेखक पौडेलले बाल्यकालका सम्झना, जीवनका भोगाइ र आमाप्रतिको गहिरो श्रद्धालाई कवितामार्फत अभिव्यक्त गरेका छन्। कार्यक्रममा सहभागी साहित्यकार तथा समीक्षकहरूले कृतिमाथि टिप्पणी गर्दै पौडेलका कविताले सरल भाषाशैलीमा गहिरो मानवीय संवेदना बोकेको बताए। उनीहरूका अनुसार सङ्ग्रहभित्रका रचनाले व्यक्तिगत अनुभूतिसँगै नेपाली समाजमा आमाको स्थान र महत्त्वलाई समेत उजागर गरेका छन्।
लेखक रामप्रसाद पौडेलले आफ्नी आमाप्रतिको श्रद्धा, बाल्यकालका स्मृति र जीवनका अनुभूतिलाई शब्दमा उतारेर पुस्तक तयार पारेको बताए। “आमा केवल जन्मदात्री मात्र होइन, जीवनका हरेक मोडमा प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँप्रतिको सम्मान र सम्झनालाई अक्षरमा बाँधेर भावी पुस्तासम्म पुर्याउने उद्देश्यले ‘स्मरण विम्बमा आमा’ तयार गरेको हुँ,” उनले भने। उनले जन्मभूमि र जन्मदात्रीप्रतिको दायित्वबोधले आफूलाई लेखनतर्फ प्रेरित गरेको उल्लेख गर्दै मातृत्वको भाव र पारिवारिक संस्कारलाई साहित्यमार्फत जगेर्ना गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, साहित्यप्रेमी तथा म्याग्दी–काठमाडौं सम्पर्क समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कृतिले नेपाली साहित्यमा मातृप्रेम र स्मृतिको नयाँ आयाम थप्ने अपेक्षा गरिएको सहभागीहरूले बताएका








