बेनी — ज्यानमार्ने उद्योग मुद्दामा अदालतबाट सजाय र क्षतिपूर्ति तोकिएपछि फरार रहेकी एक महिलालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–५ चिप्लेटीकी ५७ वर्षीया कलमती बानियाँलाई म्याग्दी जिल्ला अदालतले २०८२ पुस २२ गतेको फैसलाबाट १ वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना तथा पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय सुनाएको थियो। फैसला कार्यान्वयनबाट फरार रहेकी उनलाई प्रहरीले खोजतलासका क्रममा चिप्लेटीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएको बताए।
उनका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ। “ज्यानमार्ने उद्योग मुद्दामा सजाय तोकिएपछि फरार रहेकी प्रतिवादीलाई पक्राउ गरी सम्मानित म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएको छ,” प्रहरी निरीक्षक तिमिल्सिनाले भने, “फैसला कार्यान्वयनका लागि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।”








