म्याग्दी, असार ८ — म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ९ लाख ५८ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। सोमबार दरबाङस्थित गाउँपालिका केन्द्रमा सम्पन्न १९ औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बजेट प्रस्तुत गरेकी हुन्। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तथा बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए। गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष घर्ती मगरले पेश गरेको बजेट सर्वसम्मत रूपमा पारित भएको उनले बताए।

उपाध्यक्ष घर्ती मगरका अनुसार आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत संघीय समानीकरण अनुदान ८ करोड ८९ लाख रुपियाँ, राजस्व बाँडफाँटबाट ९ करोड ३ लाख ६३ हजार रुपियाँ, सशर्त चालु अनुदान २० करोड ७४ लाख ५० हजार रुपियाँ, सशर्त पुँजीगत अनुदान ५० लाख रुपियाँ, समपूरक पुँजीगत अनुदान २ करोड ६ लाख रुपियाँ र विशेष अनुदान ९२ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ १ करोड ६ लाख ७७ हजार रुपियाँ, राजस्व बाँडफाँटबाट ८७ लाख ६८ हजार रुपियाँ, विशेष अनुदान ४० लाख रुपियाँ र समपूरक अनुदान ६० लाख रुपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। यसबाहेक संचित कोषबाट २ करोड रुपियाँ र आन्तरिक स्रोतबाट १ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गर्बुजाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए। उनका अनुसार भौतिक पूर्वाधार निर्माणसँगै अधुरा योजनालाई पूर्णता दिने, सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, भवन निर्माण, पर्यटन प्रवर्द्धन, नदी नियन्त्रण, कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।

उपाध्यक्ष घर्ती मगरले पूर्वाधार विकासतर्फ सशर्त अनुदान र गाउँपालिकाको स्रोतबाट गरी ६ करोड ३० लाख ८ हजार रुपियाँ विनियोजन गरिएको जानकारी दिइन्। यस्तै आर्थिक विकास कार्यक्रमका लागि १ करोड ५० लाख रुपियाँ तथा विपद् व्यवस्थापनका लागि १ करोड ८५ लाख रुपियाँ छुट्याइएको उनले बताइन्। युवा रोजगार, लघुउद्यम विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनलाई समेत बजेटले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष गर्बुजाले बताए। उनका अनुसार कृषिलाई व्यवसायीकरण, पशुपालन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत आधारभूत सेवा विस्तारसँगै उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ।