म्याग्दी — बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नवयुवालाई स्वरोजगारमुखी बनाउने उद्देश्यसहित बारिष्टा तथा बेकरी तालिम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ। रोजगारीका अवसर सिर्जना गर्दै नयाँ पुस्तालाई सीपसँग जोड्ने लक्ष्यसहित नगरपालिकाले उक्त कार्यक्रम अघि सारेको हो।
नगरपालिकाले विशेषगरी ‘(Gen Z Group)’ समूहका नवयुवालाई लक्षित गर्दै बारिष्टा तथा बेकरीसम्बन्धी व्यावसायिक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। तालिममार्फत युवालाई श्रम बजारमा प्रतिस्पर्धी बनाउनुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
बेनी नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँगको सहलगानीमा आठ लाख ९४ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ। उक्त कार्यक्रममार्फत स्थानीय तहमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

नगर प्रमुख सुरत केसीले बदलिँदो समयसँगै युवाको रुचि र बजारको मागलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो।
उहाँले भन्नुभयो, “नयाँ पुस्ताका युवालाई वैदेशिक रोजगारीको विकल्प खोज्नेभन्दा आफ्नै ठाउँमा सीप सिकेर उद्यम गर्न सक्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो। त्यसैले (Gen Z Group) समूहका नवयुवालाई लक्षित गरी बारिष्टा तथा बेकरी तालिम सञ्चालन गर्ने व्यवस्था गरेका छौँ। यसबाट उनीहरू स्वरोजगार बन्ने मात्र होइन, अरूलाई समेत रोजगारी दिने उद्यमीका रूपमा स्थापित हुने अपेक्षा गरेका छौँ।”

नगर प्रमुख केसीका अनुसार सीपमूलक तालिम र रोजगार प्रवर्द्धन कार्यक्रमलाई स्थानीय आर्थिक विकाससँग जोडेर अघि बढाइनेछ। उहाँले युवालाई उत्पादन र उद्यमसँग जोड्दै आत्मनिर्भर बनाउने लक्ष्यअनुसार आगामी वर्षका नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो। बेनी नगरपालिकाले युवामुखी कार्यक्रममार्फत स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गरी पलायन घटाउने र उद्यमशील संस्कृतिको विकास गर्ने अपेक्षा गरेको छ।