जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा प्रस्तुत बजेटले रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक न्याय, गुणस्तरीय सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकतामा राखेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार बजेटका मुख्य उद्देश्यहरूमा दक्ष जनशक्ति उत्पादन, गरिबी न्यूनीकरण, दिगो पूर्वाधार निर्माण, सामाजिक सुरक्षा सुदृढीकरण, समतामूलक समाज निर्माण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन्।

बजेटका प्राथमिकतामा उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन, कृषि तथा पर्यटन क्षेत्रको विकास, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, खानेपानी तथा सरसफाइ, डिजिटल सेवा विस्तार तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदायको सशक्तीकरणलाई समेटिएको छ।

क्षेत्रगत बजेट विनियोजनअन्तर्गत पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ। वडा स्तरीय पूर्वाधार विकास र सामाजिक विकास कार्यक्रमका लागि समान रूपमा ३/३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकासतर्फ ६२ लाख रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। न्यायिक समिति, सुशासन तथा सार्वजनिक सेवा सुधारका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै १० शैयाको अस्पताल सञ्चालनका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै नाग्लीबाङ स्वास्थ्य चौकी, धाइरिङ स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण र सञ्चालनका लागि पनि बजेट छुट्याइएको छ।

बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको छ भने पालिका स्तरीय खेलकुद मैदान तथा बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको हम्पाल क्षेत्रमा प्रविधि तथा नवप्रवर्तन सिकाइ केन्द्र निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ विनियोजन गर्ने योजना गाउँपालिकाले अघि सारेको छ।

बजेटका स्रोतका रूपमा संघीय सरकारबाट प्राप्त समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट तथा गाउँपालिकाको आन्तरिक आयलाई आधार बनाइएको छ।

प्रस्तुत बजेटले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई थप गति दिने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समावेशी विकासको आधार बलियो बनाउने अपेक्षा गाउँपालिकाले गरेको छ।