बेनी, म्याग्दी — म्याग्दीको बेनी नगरपालिकाले एकल, विपन्न, दलित, यौनिक अल्पसंख्यक तथा सिमान्तकृत महिलालाई लक्षित गरी सञ्चालन गरेको १५ दिने बुके बनाउने तालिम सम्पन्न गरेको छ।
“कृषि, पर्यटन र पूर्वाधार स्वच्छ समृद्ध बेनी नगरको मूल आधार” भन्ने नारासहित बेनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा सञ्चालन गरिएको तालिम २०८३ जेठ २८ गतेदेखि असार ११ गतेसम्म बेनी नगरपालिका–७ स्थित सभाहलमा सञ्चालन भएको थियो।
नगरपालिकाका अनुसार लक्षित वर्गका महिलाको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र आयआर्जनका अवसर वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा सहभागी महिलालाई व्यावसायिक रूपमा बुके (फूलको गुच्छा) बनाउने रैथाने तथा आधुनिक सीपका साथै उद्यमशीलता विकाससम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिम समापन कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा साना उद्यम सञ्चालनतर्फ अग्रसर हुन सहभागीलाई आग्रह गरे।
तालिम समापन कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा साना उद्यम सञ्चालनतर्फ अग्रसर हुन सहभागीलाई आग्रह गर्नुभयो।
“तालिम लिएर मात्रै हुँदैन, सिकेको सीपलाई आम्दानीसँग जोड्न सक्नुपर्छ,” नगर प्रमुख केसीले भन्नुभयो, “नगरपालिकाले महिलाको आर्थिक सबलीकरणका लागि विभिन्न सीपमूलक तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै परिवारको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौँ।”
उहाँले स्थानीय स्रोत, साधन र बजारको मागलाई ध्यानमा राखेर उद्यमशीलतामा लाग्न सके बुके निर्माण व्यवसायलाई पनि राम्रो आम्दानीको माध्यम बनाउन सकिने बताउनुभयो। नगरपालिकाले आगामी दिनमा पनि लक्षित समुदायको क्षमता अभिवृद्धि र आर्थिक उन्नयनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।
तालिममा सहभागी महिलाहरूले प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आयआर्जनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले तालिमले नयाँ अवसर सिर्जना गरेको र आत्मनिर्भर बन्ने आधार तयार गरेको प्रतिक्रिया दिएका छन्। बेनी नगरपालिकाले सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गरी विभिन्न सीप विकास तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रममार्फत स्थानीय तहमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।








