कला मनोरञ्जनको माध्यम मात्र होइन, समाजलाई सोच्न, प्रश्न गर्न र परिवर्तनतर्फ प्रेरित गर्ने सशक्त माध्यम पनि हो । समाजमा गहिरो जरा गाडेर बसेका विकृति, विसंगति र कुसंस्कारलाई कहिलेकाहीँ कानुन, नीति र भाषणले भन्दा एउटा प्रभावशाली कलात्मक प्रस्तुतिले बढी प्रभाव पार्न सक्छ । बेनी नगरपालिकामा हालै प्रदर्शन गरिएको सडक नाटक ‘बिहानी’ ले यही सत्यलाई पुनः प्रमाणित गरेको छ। ‘चेतना जगाऔँ, युवा बचाऔँ; बालविवाह र दुर्व्यसन आजै हटाऔँ!’ भन्ने मूल नारासहित धौलागिरि नाट्य समूहले तयार पारेको यो नाटकले समाजमा विद्यमान बालविवाह र लागूऔषध दुर्व्यसनजस्ता गम्भीर समस्यालाई जीवन्त ढंगले प्रस्तुत गर्दै चेतनाको नयाँ बिहानी छर्ने प्रयास गरेको छ।
नेपालमा बालविवाह कानुनी रूपमा निषेध भए पनि यसको अभ्यास अझै धेरै समुदायमा जीवित छ। विशेषगरी ग्रामीण क्षेत्रमा छोरीलाई धेरै पढाउनु हुँदैन, चाँडै विवाह गरिदिए जिम्मेवारी पूरा हुन्छ भन्ने सोच अझै पूर्ण रूपमा हट्न सकेको छैन। यस्तो सोचका कारण हजारौँ किशोरीले आफ्नो शिक्षा, सपना, स्वास्थ्य र भविष्य गुमाइरहेका छन्। ‘बिहानी’ नाटकले यस्तै यथार्थलाई एउटा पात्रको जीवनमार्फत मार्मिक ढंगले प्रस्तुत गरेको छ। विद्यालयमै अध्ययनरत बिहानी प्रेममा परेर समयभन्दा पहिले विवाह गर्छिन्। किशोरावस्थामै मातृत्वको जिम्मेवारी वहन गर्न बाध्य भएकी उनी अन्ततः सुत्केरी अवस्थामै ज्यान गुमाउँछिन्। यो दृश्य कुनै काल्पनिक कथा मात्र होइन, नेपालका धेरै गाउँबस्तीमा अझै दोहोरिइरहेका वास्तविक घटनाको कलात्मक प्रतिबिम्ब हो। बालविवाहले केवल एउटा व्यक्तिको जीवन समाप्त गर्दैन, एउटा परिवारको सपना र समाजको सम्भावना पनि समाप्त गरिदिन्छ भन्ने सन्देश नाटकले गहिराइका साथ दिएको छ।
बेनीको बालमन्दिर मावि, बेनी सामुदायिक मावि, प्रकाश मावि, अर्जमको रामचन्द्र मावि र पुलाचौरको जनकल्याण माविमा नाटक प्रस्तुत गरिएको हो । सडक नाटकले बालविवाह र लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई यथार्थपरक रूपमा प्रस्तुत गर्दै युवालाई जिम्मेवार, सचेत र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
नाटकको अर्को महत्वपूर्ण पक्ष लागूऔषध दुर्व्यसनविरुद्धको सशक्त सन्देश हो। पछिल्ला वर्षहरूमा नेपालका युवामाझ लागूपदार्थको दुरुपयोग बढ्दो चुनौती बनेको छ। यसको असर व्यक्ति मात्र होइन, परिवार, समुदाय र समग्र समाजमा परेको छ। ‘बिहानी’मा कुलतमा फसेका युवालाई युवा क्लबका अध्यक्षले सम्झाएर सही बाटोमा फर्काउने दृश्यले सुधार सम्भव छ भन्ने सकारात्मक सन्देश दिन्छ। अपराधीकरणभन्दा पुनःस्थापना र सचेतनालाई प्राथमिकता दिनुपर्ने सन्देश यसले प्रवाह गरेको छ। नाटकको प्रभावकारिता यसको कथावस्तुमा मात्र सीमित छैन। पात्रहरूको अभिनय, हाउभाउ, गाउँले परिवेश, भेषभूषा र प्रस्तुतीकरणले दर्शकलाई आफ्नै समाजको कथा हेरेको अनुभूति गराउँछ। रेकर्ड गरिएको संवाद प्रयोग गरिएको भए पनि कलाकारहरूको जीवन्त अभिनयले त्यसको कमी महसुस हुन दिएको छैन। दर्शकलाई मनोरञ्जनसँगै आत्मसमीक्षा गर्न बाध्य बनाउने क्षमता नै यस नाटकको विशेषता हो।
विशेषगरी विद्यालयका विद्यार्थीलाई लक्षित गरेर तयार गरिएको यस नाटकको प्रभाव दीर्घकालीन हुन सक्छ। किशोरावस्था जीवनको सबैभन्दा संवेदनशील समय हो। यही उमेरमा सही सूचना, सकारात्मक प्रेरणा र सामाजिक चेतना प्राप्त भएमा उनीहरू भविष्यका जिम्मेवार नागरिक बन्न सक्छन्। पाठ्यपुस्तकले सिकाउने ज्ञानभन्दा व्यवहारिक र दृश्यात्मक माध्यमले धेरै गहिरो प्रभाव पार्ने भएकाले विद्यालयस्तरमा यस्ता कार्यक्रम अझै विस्तार गर्न आवश्यक देखिन्छ।
धौलागिरि नाट्य समूहले कला समाज परिवर्तनको प्रभावकारी माध्यम हो भन्ने मान्यतालाई व्यवहारमा उतारेको छ। समूहका सचिव अमित विश्वकर्माले व्यक्त गरेझैँ सडक नाटक मनोरञ्जनको साधन मात्र नभई सामाजिक अभियान पनि हो। वास्तवमा सडक नाटकको शक्ति यही हो—यसले रंगमञ्चको सीमाभन्दा बाहिर निस्केर प्रत्यक्ष समुदायसँग संवाद गर्छ। दर्शकले आफूलाई पात्रभित्र देख्छ, आफ्नै गाउँ र समाजको कथा महसुस गर्छ र परिवर्तनको आवश्यकता बुझ्न थाल्छ। यस अभियानलाई सफल बनाउन बेनी नगरपालिकाले गरेको आर्थिक तथा संस्थागत सहयोग पनि प्रशंसनीय छ। स्थानीय सरकारले सडक, भवन र भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक रूपान्तरणमा पनि लगानी गर्नुपर्छ भन्ने दृष्टान्त यो कार्यक्रमले प्रस्तुत गरेको छ। बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भनेझैँ बालविवाह र दुर्व्यसनजस्ता सामाजिक समस्या कानुनले मात्र अन्त्य गर्न सक्दैनन्। समुदायमा चेतना विस्तार, अभिभावकको सोचमा परिवर्तन र युवामा सकारात्मक ऊर्जा विकास गर्नु उत्तिकै आवश्यक छ।
यस सन्दर्भमा नगर प्रमुख सुरत केसीको नेतृत्वमा बेनी नगरपालिकाले कला र संस्कृतिलाई सामाजिक परिवर्तनको माध्यमका रूपमा उपयोग गर्ने नीति अवलम्बन गर्नु स्वागतयोग्य छ। विकास केवल सडक, पुल र भवन निर्माणमा सीमित हुँदैन; चेतनशील नागरिक निर्माण पनि विकासकै महत्वपूर्ण पक्ष हो। स्थानीय सरकारले यस्ता अभियानलाई निरन्तरता दिँदा समाजमा सकारात्मक परिवर्तनको आधार बलियो बन्न सक्छ। नेपालका अधिकांश स्थानीय तहले विकासलाई अझै भौतिक पूर्वाधारमा मात्र सीमित गरिरहेका बेला बेनी नगरपालिकाले सामाजिक चेतना अभिवृद्धिका लागि सांस्कृतिक अभियानलाई प्राथमिकता दिनु अनुकरणीय अभ्यास हो। यस्ता कार्यक्रम एकपटकको औपचारिकतामा सीमित हुनु हुँदैन। विद्यालय, समुदाय, आमा समूह, युवा क्लब तथा टोल विकास संस्थासँग सहकार्य गर्दै निरन्तर सञ्चालन गरिए मात्र यसको वास्तविक प्रभाव देखिनेछ।
‘बिहानी’ले दिएको सबैभन्दा ठूलो सन्देश भनेको परिवर्तन सम्भव छ भन्ने आशा हो। छोरीलाई अवसर दिइयो भने उनी डाक्टर बन्न सक्छिन्, कुलतमा फसेका युवालाई सही मार्गदर्शन गरियो भने उनीहरू समाजका जिम्मेवार नागरिक बन्न सक्छन्, र समयमै चेतना फैलाइयो भने बालविवाहजस्ता कुसंस्कार अन्त्य गर्न सकिन्छ। यही आशावाद नै समाज परिवर्तनको पहिलो सर्त हो।
अन्ततः ‘बिहानी’ एउटा नाटक मात्र होइन, सामाजिक उत्तरदायित्व बोकेको सांस्कृतिक अभियान हो। यसले दर्शकलाई केही घण्टा मनोरञ्जन मात्र दिएन, आफ्नै समाजलाई ऐनामा हेर्न बाध्य बनायो। कला, स्थानीय सरकार र समुदायबीचको सहकार्यले यस्ता अभियानलाई निरन्तरता दिन सके बालविवाह, दुर्व्यसन र अन्य सामाजिक विकृतिविरुद्धको लडाइँ अझ प्रभावकारी बन्नेछ। समाजलाई उज्यालोतर्फ डोर्याउने यस्ता सिर्जनात्मक प्रयासहरू नै वास्तवमा नयाँ बिहानीका आधार हुन्।








