म्याग्दी — राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, जिल्ला समिति म्याग्दीको २७औँ स्थापना दिवसका अवसरमा बेनी नगरपालिकाले सञ्चालन गर्दै आएको बौद्धिक अपाङ्गता डे–केयर तथा तालीम केन्द्र मार्फत बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई पोषणयुक्त खाद्यान्न वितरण तथा पोषण र व्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
बेनी नगरपालिकाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण, पुनर्स्थापना, सीप विकास तथा दैनिक हेरचाहलाई व्यवस्थित बनाउन डे–केयर तथा तालीम केन्द्र सञ्चालन गर्दै आएको छ। केन्द्रमार्फत नियमित रूपमा उनीहरूलाई जीवनोपयोगी सीप, स्वास्थ्य तथा सरसफाइसम्बन्धी अभ्यास, सामाजिक घुलमिल, अभिभावक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले बौद्धिक अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार्नुका साथै अभिभावकको जिम्मेवारीलाई सहज बनाउन सहयोग पुगेको नगरपालिकाको भनाइ छ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई पोषणयुक्त आहार, उचित व्यवहार, हेरचाह तथा स्वास्थ्य व्यवस्थापनसम्बन्धी जानकारी दिइनुका साथै पोषणयुक्त खाद्यान्न वितरण गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, जिल्ला समिति म्याग्दीको अध्यक्ष कमला बानियाँ थापाले बौद्धिक अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र स्वास्थ्यप्रति समाजका सबै पक्ष समान रूपमा जिम्मेवार हुनुपर्ने बताइन्। यस्ता कार्यक्रमले उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुका साथै परिवारलाई समेत हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि मानव अधिकार, सामाजिक न्याय तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन्।
प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र सामाजिक सहभागिता सुनिश्चित गर्न सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए। उनले सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै संस्थाको योगदानको प्रशंसा गरे।

कार्यक्रममा नेकपा (एमाले) म्याग्दीका सचिव थमसरा पुन, बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गरिमा मगर, मिलन म्याग्दीकी अध्यक्ष तिलु राना, बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ तथा अनेरास्ववियु म्याग्दीका खिमबहादुर किसानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आयोजकका अनुसार स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बौद्धिक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, पोषण, हेरचाह र अधिकार संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।








