म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ खारेसोवारामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शुक्रबार बिहान करिब ८ बजे स्थानीय ८० वर्षीय चितमान गर्बुजा खारेसोवारा क्षेत्रमा रहेको भिरबाट लडेर मृत्यु भएको हो। उनको शव भिरबाट करिब ३५ मिटर तल कालीगण्डकी नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब ८ः३५ बजे स्थानीयमार्फत इलाका प्रहरी कार्यालय दानामा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो।

प्रहरीका अनुसार घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट अपराध अनुसन्धान (SOCO) टोलीसहित ९ जना प्रहरी कर्मचारी घटनास्थलतर्फ खटिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।