कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय तोकिएका तथा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार भुलबहादुर तिलिजाको जाहेरीका आधारमा दर्ता भएको कर्तव्य ज्यान मुद्दाका प्रतिवादी रघुगंगा गाउँपालिका–४, दग्नाम निवासी ४५ वर्षीय गुनबहादुर पुर्जा पक्राउ परेका हुन्।
उनी पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेको अवस्थामा तत्कालीन म्याग्दी आक्रमणका क्रममा कारागारबाट फरार भएका थिए। पछि जिल्ला अदालत म्याग्दीले उक्त मुद्दामा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। हालसम्म १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फरार रहेका पुर्जा रघुगंगा गाउँपालिका–४ स्थित बस्तीबाट करिब पाँच किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








