म्याग्दी — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव र कालोबजारी भएको भन्दै युवाहरूको समूह ‘सहारा’ले जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ। समूहले सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै बजारमा ग्यासको सहज आपूर्ति, पारदर्शी वितरण र कालोबजारी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यासको अभाव नरहेको बताइरहँदा सदरमुकाम बेनीलगायत आसपासका क्षेत्रमा उपभोक्ताले सास्ती खेप्नुपरेको समूहको दाबी छ। अभावको मौका छोपेर केही व्यापारीले ग्यास लुकाउने, तोकिएको भन्दा बढी मूल्य लिने र पहुँचवालालाई मात्र वितरण गर्ने गरेको जनगुनासो आएको भन्दै समूहले बेनी बजारका डिपो, गोदाम र खुद्रा विक्रेतामाथि संयुक्त टोलीमार्फत आकस्मिक अनुगमन गर्न माग गरेको छ। त्यस्तै, ग्यासको परिमाण र वितरण तालिका सार्वजनिक गर्नुपर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही हुनुपर्ने र गुनासो सुनुवाइका लागि छुट्टै हटलाइन सेवा सञ्चालन गर्नुपर्ने मागसमेत सहारा समूहले अघि सारेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले भने म्याग्दीमा ग्यासको कुनै संकट नरहेको स्पष्ट पारेको छ। ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले नागरिक स्वयं सचेत नहुँदा कृत्रिम संकटको वातावरण बनेको बताए।
“म्याग्दीको हकमा ग्यासको अभाव छैन। बेनी बजारका पसलहरू अनुगमन गर्दा स्टक राख्न खोज्ने एक-दुई जनालाई मात्र पसलेले फिर्ता पठाएको पाइयो,” आचार्यले भने, “अहिले उपलब्ध ग्यासको विवरण संकलन भइसकेको छ।”

उनका अनुसार असाहाय, बिरामी, विद्यार्थी र मजदुरलाई प्राथमिकताका आधारमा ग्यास वितरण गरिनेछ। कसैले ग्यास नपाएमा जिल्ला प्रशासन कार्यालय वा उद्योग वाणिज्य संघले तोकेको ‘फोकल पर्सन’लाई सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
होटल व्यवसायी र सर्वसाधारणलाई अनावश्यक स्टक नराख्न आग्रह गर्दै सहायक प्रजिअ आचार्यले भने, “अस्तिसम्म बेनीमा ग्यास आएकै छ, भोलि र पर्सी पनि आउँदैछ। त्यसैले हडबढाएर स्टक राख्नतिर नलागौँ, भएको ग्यास प्रयोग गरौँ।”