म्याग्दी, २३ चैत २०८१ – म्याग्दीको बेनी नगरपालिका–९, कालीपुल बसपार्कस्थित ‘म्याग्दी कोशेली घर’ सञ्चालिका डिलकुमारी गुरुङ सामाजिक सञ्जाल टिकटकको माध्यमबाट स्थानीय उत्पादनको बजारीकरण गर्दै आउनुभएको छ। उहाँ दैनिक एक घण्टा टिकटकमा ‘लाइभ’ बस्दै उत्पादनको प्रचारप्रसार र बिक्री गर्दै आउनुभएको छ।
- गुरुङले सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको माध्यम होइन, व्यापार प्रवर्द्धनको भरपर्दो उपायको रूपमा प्रयोग गर्दै आउनुभएको बताउनुभयो। “पहिले महिनामा एक लाख रुपैयाँ बराबरको सामान बेच्न गाह्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले टिकटकबाट अर्डर लिएर तीनदेखि चार लाख रुपैयाँ बराबरको सामान बिक्री हुन्छ।”
टिकटकबाट पोस्ट गरिएका भिडियोहरूमा सम्पर्क नम्बर राख्ने, अर्डर लिएर भुक्तानी भएपछि सामान गाडी वा कुरियरमार्फत पठाउने गर्नुभएको छ। उहाँले गाउँ–गाउँका महिलाहरूले उत्पादन गरेका सामग्रीहरू पनि खरिद गरेर बजारसम्म पुर्याउने काम गर्दै आउनुभएको छ।
गत असारदेखि सञ्चालनमा आएको कोशेली घरमा म्याग्दीका विभिन्न उद्यमीले उत्पादन गरेका ढाका, अल्लो, तानमा बुनेका कपडा, जातीय पोशाक, नेपाली हाते कागज, सिस्नो पाउडर, टिमुर, फापरको पिठो, रातो च्याउ, कालो भट्टलगायतका वस्तुहरू बिक्री हुँदै आएका छन्।
- विदेशमा रहेका नेपाली ग्राहकले पनि गुरुङसँग सम्पर्क गरेर सिस्नोको पाउडर, टिमुरको चटनी र फापरको पिठोजस्ता सामग्री मगाउने गरेको उहाँले बताउनुभयो। बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान र पोर्चुगलमा रहेका नेपाली ग्राहकसँग सम्पर्कमा रहेर सामान आपूर्ति गर्ने कार्य भइरहेको छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार, कोशेली घरले जिल्लामा उत्पादित कृषि, पशुजन्य र घरेलु उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यहाँ आउने पर्यटकहरू फर्कँदा स्थानीय उत्पादनलाई चिनोका रूपमा लिएर जाने गर्छन्।








