म्याग्दी, जेठ १ — श्री बाल मन्दिर माध्यमिक विद्यालय, बेनी नगरपालिका–८, कालिपुल म्याग्दीले आफ्नो ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी हुनुहुन्थ्यो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु(याउँदै आएको भन्दै प्रमुख अतिथि केसीले विद्यालय परिवारलाई बधाई दिँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताउनु भयो । उनले भने, “शिक्षा विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न कुनै कसर बाँकी राख्दैन।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र राज शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यार्थी संख्या, परीक्षा परिणाम, पूर्वाधार सुधार तथा आगामी योजना बारे जानकारी गराए। उनले विद्यालयलाई स्थानीय अभिभावक र समुदायको साथले अझ बलियो बनाएको भन्दै आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा विद्यालयका पूर्व शिक्षक प्राध्यापक सुरेन्द्र प्रसाद केसीलाई सम्मान गरिएको थियो। शिक्षा, समाज सेवा र मार्गदर्शनमा दिएको योगदानको कदर स्वरूप विद्यालयले उनलाई सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरेको हो। सम्मानित प्राध्यापक केसीले विद्यालयको निरन्तर प्रगतिमा खुशी व्यक्त गर्दै भने, “यो मावि मेरो जीवनको आधार हो। यहाँका विद्यार्थीले भविष्यमा पनि देशका लागि योगदान दिने विश्वास लिएको छु।”
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापकले राख्नु भएको थियो भने विद्यालयका विद्यार्थीहरूले आकर्षक नृत्य, गीत, नाटक लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा शिक्षा, अनुशासन र संस्कारको संयोजन भएको विद्यालयको पहिचानलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरिएको थियो।

प्राध्यापक सुरेन्द्र प्रसाद केसी सम्मानित









