काठमाडौं / अष्ट्रेलिया। नेपाली संगीतको मौलिक स्वरूपको रूपमा रहेको लोकसंगीत अहिलेको पुस्ताबीच पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ। लोककला, संस्कार र ग्रामीण भावनालाई गीतसङ्गीतमार्फत प्रस्तुत गर्ने परम्परा पछिल्लो समय पुनः जागृत हुँदै गएको छ। यही क्रममा रमेश रोकाको नयाँ लोकगीत ‘स्वर्ग’ सार्वजनिक भएको छ।
यस गीतमा शान्ति श्री परियार र दीपक कुँवरको दमदार स्वर रहेको छ। गीतका शब्द रमेश रोकाले लेखेका हुन् भने संगीत संयोजन दीपक कुँवरले गरेका छन्। गीतले मायापिरती, आत्मिक समर्पण र सांगीतिक सौन्दर्यलाई नेपाली लोकधुनमा प्रस्तुत गरिको छ ।
भिडियो पक्षमा पनि लोकवातावरणलाई उजागर गर्ने प्रयास गरिएको छ। गीतको कोरियोग्राफी तथा निर्देशन सरिता दानकोटीले गरेकी छन्। छायांकन हरी ढकालले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका छन्। भिडियोमा दिपेश रोका र सरिता दानकोटीको भावनात्मक अभिनय देख्न सकिन्छ, जसले गीतको कथालाई जीवन्त बनाएको छ।
‘स्वर्ग’ गीत रमेश रोकाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस गीतमार्फत उनले नेपाली लोकसंगीतको मौलिक स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरेका छन्।
हाल रमेश रोका अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् भने उनको स्थायी घर म्याग्दी जिल्ला हो। प्रवासमै रहेर पनि उनले नेपाली गीतसंगीतमा निरन्तर योगदान दिँदै आएका छन्।
गीत ‘स्वर्ग’ लोकधुनको मिठास, शब्दको गहिराइ र भिडियोको कलात्मक संयोजनले संगीतप्रेमीको मन जित्ने विश्वास लिइएको छ।








