बेनी, म्याग्दी – बेनी नगरपालिका–१० ओखलेस्थित पात्लेखेत सामुदायिक सिकाई केन्द्रको आयोजनामा र बेनी नगरपालिकाको सहयोगमा सञ्चालित चार दिने धूप बनाउने सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

आयआर्जन महिला समूह र आमा समूहका लागि आयोजना गरिएको उक्त तालिममा महिलाहरूलाई घरेलु उद्योगमार्फत आय आर्जन गर्ने सीप प्रदान गरिएको हो। तालिममा सहभागी महिलाहरूले धूप बनाउने विधि, गुणस्तर व्यवस्थापन, सामग्रीको सही प्रयोग र बजार अभिमुखीकरण सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता पात्लेखेत सामुदायिक सिकाई केन्द्रका अध्यक्ष निर्मल बरुवाल खत्रीले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका शिक्षा उपसचिव क्षेत्रबहादुर भण्डारी थिए।

तालीमको उद्घाटन कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सरिता पुन, वडा सदस्य तथा कार्यपालिका सदस्य निर्मल मल्लको उपस्थिति रहेको थियो। तालिममा प्रशिक्षण बेनी नगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना श्रेष्ठले प्रदान गरेकी थिइन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले नीर अक्षरलाई मात्र साक्षर बनाउनु पर्याप्त नरही, व्यावहारिक जीवनका लागि सीप आवश्यक भएकाले यस्ता तालिमको महत्व अझ बढेको बताएका थिए।

कार्यक्रमको समापनमा सहभागी महिलाहरूले प्राप्त सीपको प्रयोग गर्दै घरमै साना उद्यम सञ्चालन गर्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पात्लेखेत सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने जनाएका छन्।