प्रकाश पौडेल एक उदयमान युवा नेतृत्व हुन्, जो विद्यार्थी राजनीतिमा नारा र भीडभन्दा भन्दा बढी वैचारिक स्पष्टता, सांगठनिक अनुशासन र कार्यदक्षतामा विश्वास गर्छन्। उनले प्रारम्भिक विद्यार्थी जीवनदेखि नै वामपन्थी विचारधारालाई आत्मसात गर्दै संगठनभित्र सक्रिय भूमिका खेलेका छन्। उनको नेतृत्वशैलीमा युवामैत्री दृष्टिकोण, संवादमुखी व्यवहार, र व्यावहारिक एजेण्डाको प्रवर्तन देखिन्छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियु नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको महत्वपूर्ण अंग हो, जसले विगतदेखि नै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय अनेरास्ववियुमा वैचारिक, रणनीतिक र नेतृत्व तहमा विविध विमर्शहरू सक्रिय छन्, र त्यसैको परिणामस्वरूप ‘युवा शक्ति’ नामक एक नयाँ धारको उदय भएको छ। यस धारलाई अघि बढाउने प्रमुख अनुहारका रूपमा उदाएका छन्—प्रकाश पौडेल।

‘युवा शक्ति’ को उदय

‘युवा शक्ति’ अनेरास्ववियुभित्र उदाएको एउटा सशक्त विचार र संगठनात्मक अभियान हो, जसले विद्यमान संरचनामा परिवर्तन, नवप्रवर्तन र युवा वर्गको सक्रिय सहभागितालाई जोड दिन्छ। यो धारले परम्परागत नेतृत्व शैलीमा सन्तुलन खोज्दै व्यवहारिक कार्यक्रम र धरातलीय मुद्दालाई प्राथमिकतामा राखेको छ।

प्रकाश पौडेलको नेतृत्वमा ‘युवा शक्ति’ ले निम्न विषयमा विशेष जोड दिएको देखिन्छ:

  1. शैक्षिक गुणस्तर र पहुँच – सरकारी शिक्षण संस्थाहरूमा गुणस्तरीय शिक्षाको माग गर्दै विद्यार्थीहरूसँग सघन संवाद र दबाबमूलक कार्यक्रम सञ्चालन।

  2. संगठनात्मक पारदर्शिता – नेतृत्व चयनमा खुला प्रतिस्पर्धा, विचारको आदानप्रदान र लोकतान्त्रिक प्रक्रियाको अभ्यास।

  3. सामाजिक उत्तरदायित्व – युवा शक्ति अभियानले विद्यार्थी मात्र नभई सामाजिक सेवामा समेत सरिक हुँदै आएको छ – जस्तै: रक्तदान कार्यक्रम, बाढीपीडित सहयोग अभियान आदि।

  4. युवा नेतृत्वको निर्माण – संगठनभित्र नयाँ पुस्तालाई अभिप्रेरित गर्ने, क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, र महिलासहित सबै क्षेत्रका युवालाई अग्रसर गराउने पहल।

‘युवाको काँधमा, वृद्धिको बोझ’

लामो रस्साकस्सी र चर्को बहसपछि अन्ततः नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएको छ। आइतबार पार्टी सचिवालयको निर्णायक बैठकले यो ऐतिहासिक कदम चालेको हो, जसले अब ३२ वर्ष नाघेका कुनै पनि सदस्यलाई संगठनको नेतृत्वमा बस्न निषेध गरेको छ। यो निर्णयले अनेरास्ववियुलाई युवा नेतृत्वको हातमा सुम्पिने स्पष्ट सन्देश दिएको छ, तर सँगसँगै दशकौँसम्म संगठनमा सक्रिय रहेका कैयौँ अनुभवी नेताहरूको बहिर्गमनलाई पनि सुनिश्चित गरेको छ।

अनेरास्ववियुमा उमेर हदको बहस नयाँ थिएन। कांग्रेसनिकट नेविसंघ र माओवादीनिकट अखिल क्रान्तिकारीले यसअघि नै उमेर हद लागू गरिसकेकाले अनेरास्ववियुमाथि पनि यस्तै निर्णय गर्न ठूलो दबाब थियो। संगठनभित्रै पनि यो विषयमा दुई धार स्पष्टै देखिन्थ्यो – एक पक्ष युवा नेतृत्वको पक्षमा थियो भने अर्को पक्ष अनुभवको निरन्तरताको वकालत गर्थ्यो। कतिपयले ३० वर्षे उमेर हदको पक्षमा थिए भने कतिपयले ३२ वर्षे। अन्ततः, पार्टीको निर्णायक बैठकले ३२ वर्षको सीमा तय गरिदियो, जसले अनेरास्ववियुको भविष्यको मार्गचित्र कोरिसकेको छ।

 

गत बैशाख १३ गते बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारी बैठकमा समेत यो विषयले ठूलो स्थान पाएको थियो। पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको उक्त छलफलमा अध्यक्ष समिक बडालसहित ३२ वर्षमुनिका पदाधिकारीहरूले अनिवार्य उमेर हदको वकालत गरेका थिए। अर्कोतर्फ, उपाध्यक्षहरू नारायण घर्ती, धर्म गिरी, गोविन्द गिरी र मर्यादा विष्टले भने अध्यक्षको आकांक्षी भए पनि पार्टीको निर्णय स्वीकार गर्ने मध्यमार्गी अडान लिए। तर, उमेर खुला राख्नुपर्छ भन्ने वकालत गर्दै आएका नरेश रोकायाजस्ता नेताहरू भने अब नेतृत्वको दौडबाट पूर्णतः बाहिरिएका छन्।

नयाँ अनुहार, नयाँ दौड

उमेर हद लागू भएसँगै अध्यक्षका आकांक्षीहरूको सूचीमा नाटकीय परिवर्तन आएको छ। अब अनेरास्ववियुको नेतृत्वका लागि प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, डा. सुजन कडरिया र दीपक धामी मुख्य दाबेदारका रूपमा अगाडि आएका छन्।

यदि सहमति भएमा वर्तमान अध्यक्ष समिक बडालको समर्थन पाएका प्रकाश पौडेलको सम्भावना बलियो रहेको स्रोतहरू बताउँछन्। पौडेलको सांगठनिक अनुभव (जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सचिव) ले उनलाई बलियो उम्मेदवारका रूपमा उभ्याएको छ।

रोचक कुरा के छ भने, पौडेल र अध्यक्ष पदको दौडबाट बाहिरिएका नरेश रोकायबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको छ। बाजुरामा जन्मिएका रोकायको राजनीतिक भूमि गण्डकीको पृथ्वीनारायण क्याम्पस हो। वर्तमान अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गण्डकी अञ्चलमा विद्यार्थी मोर्चाको अगुवाइ नरेशले गर्दा धौलागिरी अञ्चलमा प्रकाश पौडेलले यो टिमको नेतृत्व गरेका थिए। “अन्तिममा नरेश दाइ पनि प्रकाश दाइकै समर्थनमा आउनुहुन्छ,” अनेरास्ववियुका एक सदस्यले बताए। यसले प्रकाश पौडेलको अध्यक्ष बन्ने सम्भावनालाई थप बल पुर्‍याएको छ।

उमेर हदको निर्णयले संगठनका चार जना वर्तमान उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, मर्यादा विष्ट र महासचिव नरेश रोकायालाई अध्यक्षको दौडबाट बाहिरिदिएको छ। उमेर खुला भएको भए यिनै नेताहरू अध्यक्षका लागि मुख्य प्रतिस्पर्धी हुने आँकलन गरिएको थियो। यो निर्णयले अनेरास्ववियुबाट करिब ३० देखि ४० प्रतिशत नेता-कार्यकर्ता उमेरका कारण संगठनबाटै बाहिरिने अवस्था आएको छ। यद्यपि, उनीहरूको उचित व्यवस्थापन पार्टीले गर्ने अपेक्षा गरिएको छ, जसरी विगतमा पनि महेश बर्तौलाजस्ता प्रभावशाली नेताहरूलाई पार्टीले व्यवस्थापन गरेको थियो। अनेरास्ववियुको यो नयाँ अध्यायले संगठनलाई कता लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ।