ईमेज बचत पीडित संघर्ष समिति बागलुङले ईमेज बचत सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीको लिलाम बिक्रि भएको जग्गा पुनः कब्जा गरेको छ । बुधबार एक कार्यक्रम गरि संघर्ष समितिले बागलुङ नगरपालिका–२को लिलाम बिक्रि भएको नेपालीको घर जग्गा कब्जा गरेको हो ।
लिलाम साकार हुँदा आफुहरुलाई पैसा फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाइएपनि रकम फिर्ता नगरिएको भन्दै घर जग्गा पुनः कब्जा गरिएको संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बताए ।
नेपालीको बागलुङ नगरपालिका–२ मा रहेको कित्ता न. ४५७, ४५८, ४५९को जग्गा सहित त्यसमा बनेको घर बागलुङ नगरपालिका– ११ रायडाँडा स्थायी घर भइ हाल काठमाण्डौमा बस्दै आएका गोमा केसी र उनका नातेदार विकास गौतमले लिलाम खरिद गरेका थिए ।

केसी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य समेत हुन् ।
लिलाम साकार गर्ने क्रममा केसीले बचतकर्ताहरुको रकम फिर्ता गर्ने र फिर्ता गर्न नसकेको खण्डमा लिलाम साकार गरेको रकम सावाँमात्र लिई जस्ताको त्यस्तै फिर्ता गर्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका थिए ।
लिलाम साकार गरेपछि भने उनीहरु प्रशासनले डाकेको छलफलमा समेत सहभागि नहुने गरेको संघर्ष समितिको आरोप छ ।
संर्घर्ष समितिले घरमा रहेका व्यवसायीहरुलाईपनि १० दिन भित्र बन्द गर्न भन्दै पत्र बुझाएको छ ।
समितिले बुधबार नै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै गुरुङले आफुले पीडितहरुलाई सहयोग पुग्ने गरि काम गर्ने प्रतिबद्धता जनाए ।
देव कुमार नेपाली सहकारीको ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा बागलुङ कारागारमा थुनामा छन् ।









