काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशन नजिकिँदै गर्दा प्रकाश पौडेल अध्यक्षका रूपमा चर्चाको शिखरमा हुनुहुन्छ । म्याग्दीका स्थायी बासिन्दा पौडेलले आफ्नो दुई दशक लामो विद्यार्थी राजनीतिक यात्रामा नेतृत्व, सक्रियता र रचनात्मक कार्यहरू मार्फत संगठन र विद्यार्थीहरूको मन जित्दै आउनुभएको छ । नेकपा (एमाले) ले अनेरास्ववियुमा ३२ वर्षे उमेर हदको नीति लागू गरेसँगै पौडेललाई भावी अध्यक्षका रूपमा हेरिएको छ । उहाँको नेतृत्व, समर्पण र उपलब्धिहरूले उहाँलाई यो जिम्मेवारीका लागि बलियो दावेदार बनाएको छ ।

विद्यार्थी राजनीतिको शुरुआतः म्याग्दीबाट केन्द्रसम्म

प्रकाश पौडेलको राजनीतिक यात्रा २०६२ सालमा म्याग्दीको जनकल्याण माध्यमिक विद्यालय, पुलाचौरको स्कूल कमिटी अध्यक्षबाट सुरु भएको थियो । यो उहाँको औपचारिक विद्यार्थी राजनीतिको पहिलो पाइला थियो । २०६३ सालमा अनेरास्ववियु म्याग्दी जिल्ला कमिटीको सदस्य बनेर उहाँले संगठनमा आफ्नो सक्रियता बढाउनुभयो । त्यसपछि २०६५ मा जिल्ला कमिटीको सचिवालय सदस्य, २०६७ मा म्याग्दी बहुमुखी क्याम्पसको सचिव, २०६९ मा पुनः जिल्ला कमिटीको सचिवालय सदस्य हुँदै २०७१ मा अनेरास्ववियु म्याग्दीको अध्यक्ष बन्नुभयो ।

म्याग्दीमा अध्यक्ष रहँदा पौडेलले संगठनलाई नयाँ उचाइमा पु¥याउनुभएको थियो । उहाँको नेतृत्वमा रचनात्मक र सामाजिक कार्यहरूले गति लिए । २०७२ को विनाशकारी भूकम्पमा उहाँले युवा र विद्यार्थीहरूलाई संगठित गरी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यस्तै, बेनीमा नाकाबन्दीको समयमा ग्यासको कालोबजारी नियन्त्रण गर्न प्रहरीसँग सहकार्य गरी ग्यास जफत गरेर विद्यार्थी र सर्वसाधारणलाई उपलब्ध गराउने उनको प्रयासले उहाँलाई जनस्तरमा लोकप्रिय बनायो ।

केन्द्रीय भूमिका र उपलब्धिहरू

पौडेलको सक्रियता र नेतृत्व क्षमताले उनलाई २०७२ मा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित गरायो । केन्द्रीय स्तरमा पुगेपछि उहाँले देशका विभिन्न भागमा विपद्का बेला सहयोगी भूमिका निर्वाह गरे। बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपमा उहाँको नेतृत्वमा अनेरास्ववियुले राहत र उद्धार कार्यमा सक्रियता देखायो । उहाँको सामाजिक कार्यप्रतिको समर्पणले विद्यार्थीहरूबीच विश्वसनीयता बढायो ।

२०७८ मा पौडेल अनेरास्ववियुको स्थायी कमिटी सदस्य र गण्डकी प्रदेशको अध्यक्ष बन्नुभयो । गण्डकीमा उहाँले मनिपाल शिक्षण अस्पतालले विद्यार्थीमाथि लगाएको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनको नेतृत्व गर्नुभयो । यो आन्दोलनले शुल्क घटाउन सफल भयो, जसले पौडेलको नेतृत्वमा विद्यार्थी हितका लागि लड्ने क्षमता स्पष्ट देखायो । २०७९ मा उहाँ अनेरास्ववियुको केन्द्रीय सचिव नियुक्त भए र हाल प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ ।

उमेर हद र नयाँ अवसर
नेकपा (एमाले) को ३२ वर्षे उमेर हदको नीतिले अनेरास्ववियुमा नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिएको छ । यो नीतिले अनुभवी र ऊर्जावान् नेता पौडेललाई अध्यक्षका लागि स्वाभाविक दावेदार बनाएको छ । उहाँको लामो अनुभव, संगठनप्रतिको निष्ठा र विद्यार्थी हितमा केन्द्रित कार्यशैलीले उनलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको छ ।

पौडेलले आफ्नो उम्मेदवारीलाई विद्यार्थीहरूको हकहित, शैक्षिक सुधार र संगठनको सुदृढीकरणमा केन्द्रित गर्ने बताउनुभएको छ । पौडेलको नेतृत्वमा अनेरास्ववियुले शैक्षिक संस्थाहरूमा हुने अनियमितता, शुल्क वृद्धि र विद्यार्थीमाथिको शोषणविरुद्ध थप प्रभावकारी आन्दोलन गर्ने अपेक्षा गरिएको छ । साथै, उहाँले संगठनलाई देशव्यापी रूपमा थप सक्रिय र समावेशी बनाउने योजना अघि सार्नुभएको छ ।

विद्यार्थीहरूको विश्वास र भविष्यको बाटो

पौडेलको नेतृत्वमा अनेरास्ववियुले विगतमा थुप्रै उपलब्धिहरू हासिल गरेको छ । म्याग्दीमा उहाँले देखाएको सामाजिक उत्तरदायित्व, गण्डकीमा शुल्कवृद्धिविरुद्धको आन्दोलन र केन्द्रीय स्तरमा पौडेलको सक्रियताले उहाँलाई विद्यार्थीहरूबीच लोकप्रिय बनाएको छ । उहाँले सरल स्वभाव, स्पष्ट वक्तृत्व र कार्यप्रति समर्पणले उहाँलाई संगठनको नेतृत्वका लागि उपयुक्त बनाएको छ ।

अनेरास्ववियुको २४औं महाधिवेशनमा पौडेलको उम्मेदवारीले संगठनभित्र नयाँ उत्साह सिर्जना गरेको छ । विद्यार्थीहरूले उनलाई एक यस्तो नेताका रूपमा हेरेका छन्, जो शैक्षिक सुधार, विद्यार्थी हित र सामाजिक न्यायका लागि अडिग रहन सक्छ । पौडेलको नेतृत्वमा अनेरास्ववियुले नयाँ दिशा र गति प्राप्त गर्ने विश्वास धेरैले गरेका छन् ।