नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र संख्या ७३११, मिति २०८२ जेठ १९ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी बरिष्ठ हवल्दार प्रमोद प्रसाद सहनी प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनुभएको छ।
बढुवापछि उहाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले आज मिति २०८२ जेठ २१ गते आयोजित एक विशेष कार्यक्रमका बीच दर्ज्यानी चिन्ह (ब्याज) लगाई सम्मानपूर्वक सुशोभित गर्नुभएको हो।
कार्यक्रममा बोल्दै डिएसपी थापाले भन्नुभयो, “प्रहरी संगठनभित्र बढुवा केवल अधिकारको बृद्धि मात्र होइन, जिम्मेवारी र कर्तव्यप्रति थप निष्ठाका साथ कार्य गर्ने अवसर हो। प्रमोद प्रसाद सहनीज्यूले विगतमा देखाउनुभएको अनुशासन, समर्पण र कार्यकुशलता प्रशंसनीय छ। आशा छ, उहाँले आगामी दिनहरूमा पनि संगठनप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुनेछ।”
कार्यक्रममा प्रहरी अधिकृत तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रमले संगठनप्रतिको समर्पण र सेवाप्रति गरिने मूल्याङ्कनको सन्देशसमेत दिएको सहभागीहरूको प्रतिक्रिया थियो।









