जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शनिबार बेनीमा “सेवा प्रवाह, सहजीकरण, समन्वय र सार्वजनिक सुनुवाइ” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उपस्थित जनसमुदायको समस्यालाई सम्बोधन गर्दै भन्नुभयो —”स्थानीय सरकार, जिल्ला प्रशासन र सरोकारवाला निकायहरूबीच समन्वय सुदृढ हुँदा मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन्। जनताको गुनासो समाधानमा हामी सधैं गम्भीर छौं।”

कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भन्नुभयो —”प्रशासन जनताको सेवामा समर्पित छ। पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम भइरहेको छ। सार्वजनिक सुनुवाइ मार्फत नागरिकका आवाज सुन्ने र सुधार गर्न सधैं तयार छौं।”

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति हरिकृष्ण श्रेष्ठले भन्नुभयो —”जनताको अधिकार सुरक्षित गर्न सरकारी संयन्त्र अझ प्रभावकारी बन्नुपर्छ। यस्ता कार्यक्रमले जनताको आवाज सुन्ने राम्रो अवसर प्रदान गर्छ।”

त्यसैगरी नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले भने —”सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी सेवा दिन सरकारी संयन्त्रले अझ जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। गुनासो र समस्या समाधानमा चाँडो पहल हुनुपर्छ।”

कार्यक्रममा सहभागी अन्य राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सेवाग्राहीहरूले पनि आफ्ना धारणा र गुनासो राखेका थिए। सहभागीहरूले सरकारी कार्यालयहरूबाट हुने ढिलासुस्ती, नागरिकता, राहदानी, मालपोत, सुरक्षा व्यवस्था लगायत विभिन्न विषयमा प्रत्यक्ष प्रश्न गरेका थिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सुनुवाइमार्फत उठेका सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, राजनीतिक दलका नेतागण, समाजसेवी, पत्रकार तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।