काठमाडौं । विभिन्न समयमा नेपालको सरकार प्रमुख, सरकारी प्रतिनिधि वा कुटनीतिज्ञहरू विदेश जाँदा होस् वा विदेशी सरकारका प्रमुख, सरकारी प्रतिनिधि वा कुटनीतिज्ञहरू नेपाल आउँदा, उनीहरूबीच हुने कुटनीतिक वार्ताका क्रममा देखिने आचरण, शारीरिक मुद्रा, बसाइ, हाउभाउ र व्यवहारलाई लिएर सामाजिक सञ्जाल, अखबार तथा डिजिटल सञ्चार माध्यमहरूमा लामो समयदेखि टीका–टिप्पणी हुँदै आएको छ।
सभ्य आचरण र उचित शारीरिक मुद्रा कूटनीतिक शिष्टाचारका महत्वपूर्ण पक्ष मानिन्छन् । सामान्य रूपमा कूटनीतिक व्यवहार गर्दा कसरी बस्ने, उभिने र बोल्ने भन्ने विषयमा केही आधारभूत मार्गनिर्देशनहरू छन् ।
वास्तवमा कूटनीतिक अतिथिहरूको सामु बस्दा वा उभिँदा सिधा र सजगताका साथ बस्नुपर्ने बताइन्छ ।
हात मिलाउँदा पुरुषसँग भए दृढ र स्पष्ट रूपमा र महिला भएमा कोमल र सौहार्दपूर्ण रूपमा मिलाउनु पर्ने भनिन्छ ।
त्यस्तै, अतिथिलाई सधैँ होस्टको दायाँपट्टि राख्नुपर्ने, सोफामा ढल्केर बस्न नहुने, कुराकानीका क्रममा आँखाको सम्पर्क स्थिर र स्वाभाविक रूपमा कायम राख्नुपर्ने, आत्मविश्वास प्रकट गर्ने तथा गम्भीरता र सक्रियताको सन्देश दिने भएकाले सिधा उभिनुपर्ने भन्ने मान्यता छ ।
सामान्यतया उच्चपदस्थ अधिकारी वा विशिष्ट व्यक्ति कोठामा प्रवेश गर्दा, तथा परिचय र अभिवादनका समयमा उभिनु सम्मानजनक ठानिन्छ ।
कुराकानीका क्रममा आक्रामक नहुनु, खुट्टा क्रस गरेर नबस्नु, झुकेर नउभिनु वा निहुरिनु, हात बाँधेर नबस्नु जस्ता मुद्रा कायम गनुपर्ने बताइन्छ । यस्तो व्यवहार गर्दा रक्षात्मक भाव देखिएको संकेत दिन सक्ने बताइन्छ ।
केही सांस्कृतिक सन्दर्भबाहेक विशिष्ट व्यक्तिहरूको अगाडि खुट्टा बाँध्नबाट पनि बच्नुपर्ने बताइन्छ । धेरै हलचल नगरी हात काखमा राख्नु उपयुक्त मानिन्छ । जोडदार हाउभाउको सट्टा शान्त र सन्तुलित हाउभाउ प्रयोग गर्नुपर्छ ।
कूटनीतिक शिष्टाचारको सबैभन्दा महत्वपूर्ण तत्व सांस्कृतिक जागरूकता हो । आयोजक देश वा अन्य कूटनीतिज्ञहरूको गैरशाब्दिक संकेत र चलनप्रति सजगताका साथ ध्यान दिनुपर्ने बताइन्छ, किनभने एउटा संस्कृतिमा स्वीकार्य व्यवहार अर्को संस्कृतिमा आक्रामक रूपमा पनि व्याख्या हुन सक्छ ।
तर देशअनुसार विशिष्ट चलनहरू फरक हुन सक्ने भएकाले सांस्कृतिक चेतनामा ध्यान दिनु महत्वपूर्ण मानिन्छ ।
यसै सन्दर्भमा हालसालै भारतीय पत्रकार अन्जना ओम कश्यप र गीता मोहनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा उनीसँग गरेको अन्तर्वार्ताले राजनीतिक सामग्री (कन्टेन्ट) को सट्टा उनीहरूको बस्ने अवस्था (तरिका) का कारण अप्रत्याशित विवाद जन्माएको छ ।
पुटिनसँगको अन्तर्वार्तापछि भारतीय पत्रकार अन्जना ओम कश्यप र गीता मोहनको बस्ने तरिकालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
आजतकको युट्युव च्यानलमा राखिएको भिडियोको कमेन्टमा पनि व्यापक नकरात्मक कमेन्टहरुको ओइरो नै देख्न सकिन्छ । यसले इन्टरनेटमा बहस सुरु गराएको छ, जहाँ एक पक्षले यो अवस्थालाई गैरकुटनीतिक, भद्दा र गैरसम्मानीय भनिरहेको छ भने अर्को पक्षले यसलाई सामान्य ठहर गरिरहेका छन् ।
एक भारतीय महिलाले पत्रकार अन्जना ओम कश्यप र गीता मोहनको बस्ने तरिकालाई लिएर ‘अपाङ्गता’ भनेर आलोचना गरेकी छन् । भारतको आईआईटी कानपुरकी एआई सल्लाहकार करुणा गोपालले एक फोटो सार्वजनिक भएपछि एक्समा उनीहरूको अवस्थाको आलोचना गरिन् ।
फोटोमा दुवै पत्रकारहरू पुटिनको अगाडि क्रस–लेग्ड (एउटा खुट्टा अर्कोमाथि राखेर) बसेका देखिन्छन्, जुन अवस्था गोपालको तर्कअनुसार यस्तो उच्च–प्रोफाइल कूटनीतिक पृष्ठभूमिका लागि उपयुक्त थिएन ।
उनले तस्बिर साझा गर्दै लेखिन्, “महिलाहरूलाई प्रशिक्षण दिनुपर्छ । खुट्टा क्रस गर्नु ठिक छ, तर यो तरिकाले होइन । तपाईं आफ्नो मुद्रा सिधा गर्नुहोस् । एक खुट्टालाई अर्कोमाथि सफाइसँग क्रस गर्नुहोस् । क्रस गरिएको खुट्टालाई आफ्नो शरीर र कुर्सी नजिक तान्नुहोस्, ताकि तपाईंका घुँडाहरू कुर्सीसँग जोडिएर खुट्टाहरूले पातलो र बन्द रेखा बनाओस् ।”
उनको पोस्टले धेरैलाई छिटो आकर्षित गर्यो र सांस्कृतिक शिष्टाचार, पेशागतता र लिङ्गगत अपेक्षाबारे गरमागरम छलफल सुरु भयो ।
टिप्पणी खण्ड चाँडै बहसको क्षेत्र बन्यो । एक प्रयोगकर्ताले क्रस–लेग्ड बस्नु उपयुक्त हो कि होइन भनेर सोध्दै लेखे, “करुणा जी, कसैले किन त्यसरी (क्रस–लेग्ड) बस्नुपर्छ, के ती घरमै बसेका छन् ? मलाई कसैले जुत्ता देखाउँदा रिस उठ्छ । खासगरी जससँग तिनीहरू अन्तर्वार्ता गर्दैछन् ।”
यसको जवाफमा गोपालले भनिन्, “आफू आत्मविश्वासी छौँ भन्ने विश्वास गर्दै लिइएको …. अवस्था ।”
अर्का एक प्रयोगकर्ताले दृश्यात्मकताको आलोचना गर्दै टिप्पणी गरे, “अनौठो देखिन्छ र यो ‘अशोभनीय’ छ, किनभने जुत्ताहरू भीआईपी अतिथितिर देखाइएका छन् ।”








