६ वर्ष अघिसम्म बेनी नगरपालिका–२ का मान बहादुर र डिल बहादुरको दिनचर्या हलो र जुवा काँधमा राखेरै बित्थ्यो। असारको झरी होस् या हिउँदको कठ्याङ्ग्रिँदो जाडो, महिनाौँसम्म गोरु धपाउँदै खेतबारीमा पसिना बगाउनु उनीहरूको बाध्यता थियो। तर, अहिले समय बदलिएको छ। हिजोका ती ‘हलिया’ किसानहरू आज आधुनिक ट्याक्टरका मालिक र प्रयोगकर्ता बनेका छन्।

खेतबारी खन्न र जोत्न ट्याक्टरको प्रयोग बढेसँगै म्याग्दीका स्थानीय किसानको जिन्दगी नै फेरिएको छ। “पहिला एक हल गोरुले दिनभर लगाएर गर्ने मेलो अहिले ट्याक्टरले आधा घण्टामै सक्छ,” स्थानीय राम किसानले खुसी हुँदै भने, “महिनौँ लाग्ने काम दुई दिनमै सकिन थालेपछि अहिले धेरै सजिलो भएको छ।”

प्रविधिको प्रवेशले खेती गर्ने शैली मात्र होइन, उत्पादनको चक्रलाई पनि बदलिदिएको छ। गोरुले जोत्दा असारमा सुरु गरेर भदौसम्म चल्ने रोपाइँ अहिले केही दिनमै सम्पन्न हुन्छ। “उतिबेला बाँझो रहने खेतमा अहिले वर्षमा तीनवटा खेती हुन्छ,” राम किसान थप्छन्, “धान, मकै र गहुँबाहेक व्यावसायिक तरकारी खेतीतर्फ पनि हाम्रो आकर्षण बढेको छ।”

किसानहरूका अनुसार पहिला काठको हलो बनाउन र खोज्न लेक (हिमाली भेग) तिर जानुपर्थ्यो। तर, अहिले जमाना बदलिएको छ। आधुनिक फलामे हलो र ट्याक्टरका पार्टपूर्जा खोज्न उनीहरू बेनी बजार र सहरतिर झर्ने गर्छन्। “हिजो लेकको काठले जमिन उधिन्थ्यौँ, आज सहरको मेसिनले माटो फर्काउँछौँ,” स्थानीय कृषकहरूको सामूहिक अनुभव छ।

बेनी नगरपालिका–२ लगायत जिल्लाका अन्य क्षेत्रमा पनि यान्त्रिकीकरणले श्रमको मूल्य घटाएको छ भने कृषिमा युवाहरूको रुचि समेत जगाएको छ। यद्यपि, भौगोलिक विकटताका कारण सबै ठाउँमा मेसिन पुर्‍याउन कठिन रहे पनि पहुँच पुगेका स्थानमा भने कृषि क्रान्ति नै आएको छ।

परम्परागत खेती प्रणालीबाट आधुनिकतातर्फको यो छलाङले म्याग्दीको कृषि अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास लिइएको छ।