म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ मा उपभोक्ता समितिमार्फत सञ्चालित विकास योजनाहरूलाई तीव्रता दिएको छ । नगरभित्रका विभिन्न वडाहरूमा विशेषगरी खानेपानी, सिँचाइ र मुहान संरक्षणका योजनाहरू सम्पन्न भएसँगै स्थानीयको दैनिक जीवनमा सहजता आएको छ । “विकास भनेको बाटो र ढल मात्र होइन, नागरिकको दैलोमा पुग्ने स्वच्छ खानेपानी र खेतमा बग्ने सिँचाइ पनि हो,” बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको यो भनाइ यतिबेला बेनीका ग्रामीण बस्तीहरूमा चरितार्थ भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा बेनी नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गरेका साना तथा मझौला योजनाहरू तीव्र गतिमा सम्पन्न भएका छन् । नगरपालिकाले यस वर्ष जनसहभागितामा आधारित विकासलाई प्राथमिकता दिँदा नगरका १० वटै वडामा उत्साहजनक नतिजा देखिएको छ।
१. खानेपानीमा आत्मनिर्भर बन्दै वडा नं. ८ र १०
खरेनी खानेपानी योजना (बेनी–८)
बेनी नगरपालिका वडा नं. ८ मा सञ्चालित खरेनी खानेपानी योजना सम्पन्न भएपछि स्थानीय महिलाहरूको वर्षौँदेखिको खानेपानीको सास्ती हटेको छ। उपभोक्ता समिति अध्यक्ष धन कुमारी सार्की भन्छिन्: “पहिले खानेपानीको लागि निकै समस्या थियो। नगरपालिकाको बजेट र हाम्रो श्रमदानले आज घरघरमा धारा पुगेका छन्। विशेष गरी दलित र पिछडिएका बस्तीमा पानी पुग्दा हामी असाध्यै खुसी छौँ। अब गाग्री बोकेर पँधेरो धाउने समय बचत भएको छ, जुन समय हामी आयआर्जनमा लगाउन सक्छौँ।”
कासलुङ लिफ्टिङ खानेपानी मर्मत (बेनी–१०)
त्यस्तै, विकट मानिने वडा नं. १० पात्लेखेतको कासलुङमा लिफ्टिङ खानेपानी योजनाको मर्मतपछि पानी आपूर्ति सहज भएको छ। उपभोक्ता समिति अध्यक्ष कृष्ण बहादुर शाहीका अनुसार: “पुरानो मोटर बिग्रिएर र पाइपलाइनमा समस्या आएर बस्तीमा पानीको हाहाकार थियो। नगरपालिकाले मर्मतका लागि समयमै बजेट व्यवस्थापन गरिदिएपछि हामीले युद्धस्तरमा काम गरेर योजना सम्पन्न गर्यौँ। अहिले कासलुङबासीले ढुक्कसँग पानी खान पाएका छन्।”
२. सिँचाइ र कुलो निर्माण: कृषि क्रान्तिको आधार
खलखले थामडाँडा सिँचाइ योजना (बेनी–४)
खेतीयोग्य जमिन भएर पनि आकाशे पानीको भर पर्नुपर्ने थामडाँडाका किसानका लागि ‘खलखले थामडाँडा सिँचाइ योजना’ वरदान सावित भएको छ। उपभोक्ता समिति अध्यक्ष राधिका खत्री भन्छिन्:
“हाम्रो ठाउँमा बाँझो जमिन धेरै थियो। सिँचाइ नहुँदा अन्नबाली लगाउनै मुस्किल हुन्थ्यो। अहिले सिँचाइ सुविधा पुगेपछि किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। महिलाहरूले नै नेतृत्व गरेर यो योजना समयमै सकेका हौँ।”
स्थानीय किसान रामप्रसाद पौडेल थप्छन्, “खेतको गह्रामा पानी पुग्दा मनै आनन्दित भएको छ। अब हामीले बजारबाट तरकारी किनेर खानुपर्दैन, बरु बेनी बजारमा बिक्री गर्न पठाउनेछौँ। “वडा नं. ४ कै सुर्केमेलामा पनि सिँचाइ योजना सम्पन्न भएको छ।
३. मुहान संरक्षण र पोखरी निर्माण: वातावरणीय सन्तुलन
घुरेनी खोला मुहान संरक्षण (बेनी–२)मा पर्ने भिरालो जमिन र मुहान सुक्दै जाने समस्या समाधान गर्न बेनी–२ मा घुरेनी खोला मुहान संरक्षण कार्य गरिएको छ। उपभोक्ता समिति अध्यक्ष बलाराम जिसी भन्छन्: “मुहान संरक्षण नहुँदा बर्खामा भेल पस्ने र हिउँदमा सुक्ने समस्या थियो । अहिले हामीले व्यवस्थित पक्की संरचना बनाएर मुहान थुनेका छौँ । यसले तल्लो तटीय क्षेत्रका झण्डै ५० भन्दा घरधुरीलाई फाइदा पुगेको छ। पानीको स्रोत जोगाउनु नै भविष्य जोगाउनु हो।”
लाटिकुवा कुवा तथा पोखरी निर्माण (बेनी–९)
ऐतिहासिक र परम्परागत पानीका स्रोतहरूको संरक्षण गर्ने नीति अन्तर्गत लाटिकुवामा कुवा तथा पोखरी निर्माण गरिएको छ। उपभोक्ता समिति अध्यक्ष टेक बहादुर चोखाल भन्छन्:
“पुरानो कुवा पुरिने अवस्थामा थियो। नगरपालिकाले सम्पदा संरक्षण झैँ गरी यसलाई बजेट दियो। अहिले कुवा सफा र व्यवस्थित भएको छ भने सँगै बनेको पोखरीले गाईवस्तुलाई पानी खुवाउन र वातावरण संरक्षणमा सहयोग पुगेको छ।”
४. साना सिँचाइ र घेराबार: मुसुङ्ग डोलेको फेरिएको रूप
मुसुङ्ग डोले सिँचाइ पोखरी घेराबार (बेनी–३)मा सिँचाइ पोखरीलाई सुरक्षित बनाउन घेराबार गरिएको छ। यसबाट बालबालिका र चौपायाहरू दुर्घटनामा पर्ने जोखिम हटेको छ। स्थानीय बासिन्दा सरिता विक भन्छिन्:
“पोखरी त थियो तर खुल्ला हुँदा डर लाग्थ्यो। अहिले नगरपालिकाले तारजाली र घेराबार गरिदिएपछि सुरक्षित भएको छ। हाम्रो टोलमा विकास आएको आभास भएको छ।”
५. नेतृत्वको प्रतिवद्धता र प्रशासनिक सक्रियता
नगरपालिकाले यस वर्ष उपभोक्ता समितिमार्फत भएका काममा पारदर्शिता र गुणस्तरलाई मुख्य मन्त्र बनाएको छ , योजनाहरूको प्रभावकारिता र कानुनी प्रक्रियाका बारेमा बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा भन्नुहुन्छ: “हामीले आ.ब. २०८२/०८३ मा ढिलासुस्तीलाई शून्यमा झार्ने लक्ष्य राखेका थियौँ। उपभोक्ता समितिहरूलाई तालिम दिएरै काममा खटाएका हौँ । इन्जिनियरिङ मापदण्ड र गुणस्तरमा कुनै सम्झौता गरिएको छैन। सबै योजनाहरूको प्राविधिक मूल्याङ्कन र अनुगमन पश्चात मात्र भुक्तानी प्रक्रिया अगाडि बढाइएको छ। यसले बेनी नगरपालिकाको विकासमा सुशासन कायम गरेको छ।”
विकासको मोडल र आगामी योजनाबारे स्पष्ट पार्दै नगर प्रमुख सुरत केसी भन्नुहुन्छ: “बेनी नगरपालिकाको मुख्य उद्देश्य नै ‘समृद्ध नगर, सुखी नगरवासी’ हो । हामीले ठूला ठेक्कापट्टा भन्दा पनि समुदायले आफैँ बनाउन सक्ने साना योजनामा उपभोक्ता समितिलाई प्राथमिकता दियौँ। यसले स्थानीयलाई रोजगारी पनि दियो र अपनत्व पनि बढायो। खरेनी, कासलुङ र थामडाँडा जस्ता योजनाहरू यसको उदाहरण हुन् । हामीले कृषि र पर्यटनलाई जोड्ने गरी सिँचाइ र कुवा संरक्षणमा लगानी बढाएका छौँ। आगामी दिनमा बाँकी रहेका अधुरा योजनाहरूलाई पनि यसैगरी नागरिकको सहभागितामा सम्पन्न गर्नेछौँ।”
बेनी नगरपालिकाले यस आर्थिक वर्षमा गरेका यी कार्यहरूले केवल भौतिक पूर्वाधार मात्र तयार पारेका छैनन्, बरु नागरिक र सरकारबीचको दूरी पनि घटाएका छन् । उपभोक्ता समितिका पदाधिकारीहरूमा देखिएको उत्साह र स्थानीयको खुसीले बेनी नगरपालिका समृद्धिको नयाँ उचाइतर्फ लम्किरहेको प्रष्ट हुन्छ। योजनाहरू समयमै सम्पन्न भएपछि नगरका दुर्गम वडाका बासिन्दाहरूले स्थानीय सरकारको उपस्थितिको महसुस गर्न थालेका छन् । उपभोक्ता समितिहरूले पनि आफ्नै अग्रसरतामा भएका काममा अपनत्व महसुस गरेको देखिएको छ ।









